२०८१ श्रावण १२

रूपन्देही सुपरलिग सुरु, उद्घाटन खेलमा देवदह क्रिकेट क्लब विजयी
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २७, आईतवार ११:२५ गते

 

भैरहवा, २७ फागुन ।
रुपन्देही सुपरलिग आइतबारबाट सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा ‘ड्रिम युनिक रुपन्देही सुपर लिग–२०८०’ (वन–डे क्रिकेट प्रतियोगिता) सुरु भएको हो । लामो समयदेखि जिल्ला स्तरमा ५० ओभरमा यो प्रतियोगिता हुदै आएको छ ।
प्रतियोगितामा आइतबारदेखि डिभिजन ‘बी’का खेलहरु सुरु भएका छन् । उद्घाटन खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले ४० ओभरमा छोट्याइएको खेलमा २० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल खडा गर्यो । जसमा सुमन सुनारले २९, सलउद्दिन खान्ले १६ र शिव कुँवरले अविजित १५ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा देबदहका सुरज खड्काले ६ दशमलब ५ बलमा २ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, अर्जुन रायमाझीले ३ तथा शिव ज्ञवालीले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देवदहले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाई जित निकाल्यो । उसको जितमा सुमन पाण्डेय र संकेत भट्टराईले २७–२७ तथा कृष्ण पासीले नटआउट १२ रनको योगदान दिए । बलिङमा बुटवल राइनोज का शिव कुँवरले ३, सलउद्दिन खाँन र सन्देश ज्ञवालीले समान २–२ तथा सुभम घमालले १ विकेट लिए । खेलमा देवदहका सुरज खड्का म्यान खफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेतालाई ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगिता अन्तर्गत सम्पूर्ण खेलमा म्यान अफ द म्याच हुनेलाई १ हजार २ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
म्यान अफ द सिरिजलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता २०८१ वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहको प्रतियोगिता अवधिभर ३५ वटा खेलहरु हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, जिल्ला संघका अध्यक्ष हरिबहादुर थापा, सचिव संजय गुरुङलगायतले बोल्दै जिल्ला स्तरमा हुने यस्ता खेलले राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।