२०८१ श्रावण १२

जग्गाको राजश्व घटाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • लुम्बिनी खोज
  • २०८० चैत्र ५, सोमबार १२:०७ गते

बुटवल,५ चैत ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा कृयाशिल राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय भूमि आयोग रुपन्देही र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, राष्ट्रिय भुमि आयोग रुपन्देहीका अध्यक्ष हरिवहादुर आचार्य क्षेत्री, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।
कञ्चनमा दलहरुको आईतवार सम्पन्न बैठकले अव्यवस्थित जग्गाको लालपुर्जा लिन तोकिएको राजस्व धेरै भएकोले तत्काल घटाउन प्रधानमन्त्री सहित सम्वन्धि निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
दलहरुको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राष्ट्रिय भूमि आयोग रुपन्देहीले गत फागुन २४ गते तोकेको सार्वजनिक सूचना अनुसार कञ्चन ५ को अव्यवस्थित बसोबासीको निम्ति तोकिएको राजस्व कोही अव्यवस्थित बसोबासीले बुझाएर पुर्जा लिन नसक्ने भन्दै न्युन राजस्वको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
साविक रुद्रपुर गाविसका अध्यक्ष लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले राजस्व घटाउन आवश्यक परे सडक संघर्षका कार्यक्रम समेत गर्ने निर्णय गर्दै जिल्लामा क्रियाशिल दलका नेताहरु, प्रतिनिधि सभाका सांसद, मन्त्रीलगायत राष्ट्रिय भूमि आयोग काठमाण्डौं, मन्त्री तथा प्रधानमन्त्री कार्यालयमा डेलीगेसन जाने, ध्यानाकर्षण गर्ने तथा दवाव दिने निर्णय गरेको थियो।