२०८१ श्रावण १२

रुपन्देहीमा एसइईको तयारी, ५८ वटा परीक्षा केन्द्र
  • लुम्बिनी खोज
  • २०८० चैत्र ११, आईतवार १३:४२ गते

ठूलो केन्द्र नवीनमा ६७६ सहित १९हजार ६९५ विद्यार्थीहरू सहभागी हुने, केन्द्राध्यक्षहरुलाई  अभिमुखिकरण 

भैरहवा ११ चैत्र ।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको आयोजनामा एसइई २०८० सम्बन्धि केन्द्राध्यक्षहरुलाई पूर्व तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गत वर्ष रुपन्देहीका सबै परीक्षा केन्द्र गर्व गर्न मिल्ने भएकोमा यस वर्ष पनि निरन्तरता दिन आग्रह गर्दै परीक्षा हेल्प डेस्क स्थापना गर्न आग्रह गरे ।
जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रूपन्देही जिल्लाका सबै परीक्षा केन्द्रहरूलाई नमुना योग्य बनाउन सबै केन्द्राध्यक्षहरुलाई सुझाव दिदै विद्यार्थीहरूलाई जिम्मेवार बनाउन आग्रह गरे । उनले अनुगमनको नाममा बढी भिडभाड नगर्न र नगराउन र परीक्षाको मर्यादा कायम गर्न सुझाव दिए ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख माधव वन्जाडेले रूपन्देहीमा ५८ वटा परीक्षा केन्द्रहरू रहेको जसमा सामुदायिक विद्यालयबाट १७३ संस्थागत विद्यालयबाट १६६ गरी ३३९ विद्यालयका नियमित तर्फ १८हजार ८९५ , प्राविधिक धारतर्फ ४२४ र ग्रेड वृद्धिमा ८०० गरी जम्मा १९हजार ६९५ विद्यार्थीहरू परीक्षामा सहभागी हुने बताए । उनले सबैभन्दा ठूलो परीक्षा केन्द्र नवीन औद्योगिक कदर बहादुर रीता मावि बुटवल जसमा ६७६ र सबैभन्दा सानो परीक्षा केन्द्र न्यू इन्भारमेन्ट इङलीस बोर्डिङ स्कूल तिलोत्तमामा ११९ जना रहेको र समग्र परीक्षाको बारेमा धारणा राखे।
जिल्ला परीक्षा समन्वय समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले शान्ति सुरक्षाको बारेमा धारणा राखे।
जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा परीक्षा शाखाका शाखा अधिकृत विष्णुप्रसाद वेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पश्चिमाञ्चल इङ्लिस स्कुलका प्राचार्य राजु ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्ला परीक्षा समन्वय समितिका सदस्यहरू शशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक हरिश विष्ट र ५८ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको नवीन औद्योगिक कदरबहादुर रीता मा. वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।