२०८१ श्रावण १२

बुटवल लिंक रोडका सडकः विवाद मिल्यो, बजेट मिलेन
  • लुम्बिनी खोज
  • २०८० चैत्र २०, मंगलवार ०७:४१ गते

केन्द्रमा बजेट, योजना प्रदेशमा हुदाका समस्या देखि उपभोक्ताका विवाद चिर्दै कामले गति लिन खोज्दा बजेट अभाव

बुटवल २० चैत ।
बुटवलका सडक थप ब्यवस्थीत गर्ने गरी अगाडी बढाइएका बुटवल लिंक रोड(वाईपास) का सडकमा बजेट अभाव हुदा कामले गति बढाउन सकेको छैन् । केही वर्ष अगाडी सडक सञ्जालको विकासमा बुटवललाई यस क्षेत्रको अग्रणी नगर बनाउने गरी बुटवल लिंक रोडका नाममा ६ वटा सडक अगाडी बढाइएको थियो । ती मध्ये हाल तीन वटा निर्माणाधिन अवस्थामा छन् ।
निर्माणधिन सडक मध्ये कुनै कुनै सडकमा विवादले कामले गति लिन नसकेको अवस्थामा विवाद मिल्दा बजेटको समस्या आइपरेको छ । कहिले केन्द्रमा बजेट योजना प्रदेशमा पारिदिदा समस्या झेलेका सडकमा आइपरेका विवादका हल हुन खोज्दा बजेटको समस्या आइलागेको हो ।
लिंक रोड मध्येको एउटा सडक हो, बुटवल ११ मा पर्ने रंगशाला–हात्तिसुढ सडक । यो सडक विस्तार गर्ने धेरै पहिला देखिको योजनाले अनेक विवाद पार लगाउदै हाल गति लिन थालेको छ ।
२०७४ सालमा यस सडकको योजनाका लागि बजेट विनियोजन भएपनि विवादले गति नै लिन सकेन् । त्यस यता वर्षेनी लाखौं रकम फ्रिज हुदै आएकोमा यस वर्ष कामले गति लिन थालेको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले यो सडक विस्तार गरी कालोपत्रे गर्ने योजना ०७४ सालमा अगाडी बढेकोमा वषौं सम्म कामले गति लिन नसकेकोमा अहिले स्थानियको सक्रियतामा कामले गति लिन थालेको बताउछन् ।
०७४ सालमा डेढ करोड बजेट परेको थियो, तर कामले गति नलिएपछि बजेट फ्रिज भयो, अर्को वर्ष पनि ६८ लाख वजेट प¥यो, तर त्यो पनि फ्रिज भयो, उनी भन्छन् । जति बजेट परे पनि फ्रिज हुदै गएकोमा कामले गति लिन नपाउदै अदालतमा मुद्दा परेको उनी बताउछन् । स्थानिय २३ जनाले मुद्दा हालेकोमा २ वर्ष भन्दा पनि अगाडी फैसला भयो । अदालतले कसैको क्षति नहुने गरी ५१ फुटको बाटो बनाउनु भन्ने फैसला गरेको क्षेत्री बताउछन् । अदालतको फैसला पछि पनि कामले गति लिन सकेन् । यसो हुनुमा बजेट र योजनाको तालमेल नहुनु रह्यो ।
बजेट केन्द्र सरकारमै रह्यो तर योजना प्रदेशमा सारिदा काम हुन नसकेको अवस्थामा स्थानिय जनप्रतिनिधिसहितको सक्रियतामा यस पटक बजेट र योजनाको तालमेल मिलाउन खोजिएको छ । तर यसका लागि बजेटको कमी भने देखिएको छ । १३ सय ४० मिटर लामो सडकका लागि २०७८ साउन २९ मा ठेक्का सम्झौता भएको थियो । डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर देवचन्द्र भण्डारीका अनुसार भ्याटसहित ६ करोड ४९ लाख ठेक्का सम्झौता भएको थियो । २०७९ साउन २९ मा सम्पन्न गर्ने गरी सम्झौता भएको यस सडकको प्रगति हालसम्म जम्मा २६ प्रतिशत रहेको छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार हालसम्म ७१ लाख ७५ हजार खर्च भएको छ । यस आर्थिक वर्षमा ४ करोड बजेट आवश्यक पर्नेमा जम्मा २५ लाख बजेट रहेको छ ।
नाली बनाउने काम जारी
हाल यस सडकमा दुवै साइडमा नाली बनाउने काम जारी रहेको छ । इन्जिनियर भण्डारीका अनुसार हालसम्म ९–९ सय मिटर नाली बनेको छ । अझै करिब ५–५ सय मिटर नाली बनाउन बाकी रहेको छ । नाली बनेपछि कामले गति लिने वडा अध्यक्ष क्षेत्री बताउछन् । नाली बन्दा सम्म सडकको क्षेत्र स्पष्ट हुने हुदा त्यसपछि कामले गति लिने उनको भनाइ छ । सडक निर्माणमा हाल साइड क्लियरको समस्या रहेकाले साइड क्लियर गर्दै नाली निर्माणमा जोड दिइएको छ ।
बजेटको अभाव, सडक क्षेत्रका संरचना हटाउन चुनौती
यस सडक क्षेत्र बिस्तारसगै निर्माणमा हाल मुख्य २ वटा समस्या देखा परेका छन् । अत्यन्तै न्यून बजेटका कारण कामको गति बढाउन समस्या भएको छ । ४ करोड आवश्यक पर्ने ठाउमा २५ लाख बजेट आएपछि कामको गति बढाउन गाह्रो भएको सरोकारवालाहरुको भनाइ छ । अर्को तर्फ सडक ५१ फुटको बनाउन सडक क्षेत्रमा पर्ने संरचना हटाउन थप चुनौती यहा छ । इन्जिनियर भण्डारी पनि मुख्य समस्यामा बजेट अभाव र साइड क्लियरको रहेको बताउछन् । घरका संरचना, बरण्डा हटाउनुपर्ने देखि बिजुलीका पोल तथा खानेपानीका पाइप सारेर ब्यवस्थापन गर्नुपर्ने अवस्था यहा रहेको छ । यी कामले जति चाडो गति लिन्छ, त्यति चाडो सडक विस्तारको कामले गति लिने इन्जिनियरहरु बताउछन् ।
यसरी हुदैछ समस्याको समाधान
लामो समयदेखि स्थानिय वीचको विवाद तथा विभिन्न कारणले कामले गति लिन नसकेको अवस्थामा पछिल्लो समयमा स्थानिय जनप्रतिनिधिहरुको पहलमा सडक विस्तारमा आइपर्ने समस्या हल गर्ने प्रयास थालिएको हो । केही दिन अगाडी मात्रै वडा अध्यक्ष क्षेत्रीसहित स्थानिय टोल विकास सस्थादेखि अगुवाहरुको भेलाबाट समस्या हल गर्दै कामलाई तीव्रता दिने निर्णय गरिएको थियो । सडकका दुवै साइडका बासिन्दालाई मर्का नपर्ने गरी समस्या हल गरेर काम गर्ने सहमति भएको क्षेत्री बताउछन । स्थानिय सस्थाहरु देखि अगुवाहरुले समस्या हल गर्न आफै अग्रसरता देखाउदै काम गर्दै अगाडी बढेको क्षेत्रीको भनाइ छ । उहाहरु आफै सक्रिय भएर सडक निर्माणमा देखा पर्ने समस्या हल गर्दै अगाडी बढ्नुभएको छ, यसले कामको गति बढाउन सहज हुने देखिन्छ, क्षेत्रीले भने ।
जनप्रतिनिधिको पहलमा विवाद समाधान तर्फ उन्मुख हुदा बजेटको ब्यवस्थापन अहिले मुख्य चुनौतीका रुपमा रहेको छ । यस सडकसहित लिंक रोडका निर्माणाधिन सडकमा बजेटको कमि रहेको डिभिजन सडक कार्यालय बुटवलका सुचना अधिकारी समेत रहेका इन्जिनियर महेश्वर लम्साल कामको गति बढाउन बजेटकै कमि रेहेको बताउछन ।
उनका अनुसार यस आर्थिक वर्षका लागि लिंक रोडमा रहेका सडकहरु धागो कारखाना –योगिकुटी –मगरघाट–तामनगर सडकका लागि ५५ लाख, रंगशाला–हात्तिसुढ सडकका लागि २५ लाख बजेट विनियोजन भएको थियो । त्यस्तै लिंक रोड मध्येकै बेलबास–नयागाउ सम्पर्क सडकमा २५ लाख, मिलनचोक–हात्तिसुढ–बेलबास सडकमा २५ लाख, गोलपार्क –चादबारी–शिजनगर सडकमा ३५ लाख र मैनाबगर –श्रीरामनगर सम्पर्क सडकमा३५ लाख बजेट विनियोजन गरिएको थियो । यी मध्ये हाल निर्माणाधिन अवस्थामा रहेका रंगशाला–हात्तिसुढ सडक, धागो कारखाना–योगिकुटी–मगरघाट–तामनगर सडक र बेलबास–नयागाउ सम्पर्क सडकमा बजेटको कमी रहेको इन्जिनियर लम्सालको भनाइ छ ।