२०८१ श्रावण १२

बुटवल उवासंघको परिषद सभा
  • लुम्बिनी खोज
  • २०८० चैत्र २६, सोमबार ०९:५१ गते

बुटवललाई आर्थिक राजधानीका रुपमा विकास गर्नुपर्नेमा जोड
बुटवल २६ चैत ।
बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्न सरोकारवालाहरु जुट्नुपर्नेमा जोड दिइएको छ । बुटवल पश्चिम नेपालको प्रमुख ब्यापारीक केन्द्रका रुपमा रहदै आएको तथ्य औल्याउदै सरोकारवालाहरुले यहाको विकासमा ध्यान दिन सके प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रका रुपमा विकास गर्न सकिनेमा जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ३० औं परिषद सभामा वोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले बुटवललाई प्रदेशको व्यवस्थित आर्थिक राजधानी बनाउने भन्नेमा बहस हुन आवश्यक रहेको बताएका छन् । सबैले मिलेर काम गर्ने हो भने बुटवललाई प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने विचार उनले व्यक्त गरे ।
उनले प्रदेशको राजधानी सरेपछि परेको मनोवैज्ञानिक असर र आर्थिक मन्दीले समेत यहाँको उद्योग व्यापार व्यवसायमा केही जटिलता सिर्जना भएको बताए ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले आर्थिक विकाससंग जोडिएका विषयमा निजी क्षेत्र र सरकारको साझा धारणा आवश्यक रहेकोमा जोड दिए । उनले मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्रको विकासको लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।
उनले सरकारले पूर्वाधार निर्माण गर्दा सहज आवागमनलाई असर नगर्नेगरी काम गर्नुपर्ने बताउँदै बुटवल–नारायणगढ सडक पूर्वाधार निर्माण पुरा नहुँदै पश्चिमको सडक नभत्काउन सरकारको ध्यानाकर्षण गराए । प्रदेश सभा सचिवालय र सभा सञ्चालनको लागि प्रदेश सरकारलाई उपलब्ध गराईएको संघको भवन र सभाहल राजधानी सारेपछि अस्तव्यस्त छाडेको र मर्मत सम्भारको भुक्तानीमा समेत विलम्ब भईरहेको बताउँदै अध्यक्ष अर्यालले सांसद पन्थीलाई भुक्तानीको प्रवन्ध मिलाईदिन आग्रह गरे ।
त्यस अवसरमा संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै विकास र समृद्धिको लागि बुटवल र पहाडि जिल्लाहरुको आवागमनलाई सहज र छिटोछरितो बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै संघले गत असोज यता सम्पादन गरेका कार्यक्रमहरु र त्यसले पारेका प्रभावहरुको बारेमा जानकारी गराए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका परामर्शदाता सिए हरि लम्साल, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेल, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिका सभापति लक्ष्मण पोखरेललगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
परिषद सभामा संघमा गठित बस्तुगत समितिका सभापतिहरुले हालसम्म गरेका गतिविधिहरु, उद्योगी व्यवसायीका समस्या तथा समाधानका लागि सुझाव सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । संघमा २८ वटा बस्तुगत समिति रहेका छन् । बस्तुगत समितिले दिएको प्रतिवेदनका आधारमा व्यवसायीका समस्या समाधानको लागि संघबाट हुनसक्ने पहल संघले गर्ने र केन्द्रमा पहल गर्नुपर्ने कुराहरु महासंघ मार्फत पहल गरिने अध्यक्ष अर्यालले बताए ।
कार्यक्रममा संघ र संघ अन्तरगत गठित कपडा बस्तुगत समितिले प्रकाशन गरेका २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको थियो ।