४ जेष्ठ २०८१, शुक्रबार

भलाई कोषको स्वर्ण महोत्सवमा स्वास्थ्य शिविर तथा बृहत् रक्तदान
  • लुम्बिनी खोज
  • २ बैशाख २०८१, आईतवार ११:५७

बुटवल, २ वैशाख ।
यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक नियम सम्बन्धी, नेको इन्स्योरेन्स प्रदेश प्रमुख रमेश थापाले दुर्घटना बिमाका बारेमा तथा लुम्बिनी प्रदेशका पुर्व न्यायाधीवक्ता खुमाकान्त पौडेलले दुर्घटनापछिको कानुनी प्रवन्धका बारेमा प्रशिक्षण दिएका थिए ।
यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई मजदुर, ब्यवसायीहरुको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको बताए । कतिपय कानुनका नया प्रावधानको विषयमा अनभिज्ञ रहेका ब्यवसायीहरुलाई सहयोग हुने गरी कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा यातायात र कानुनका विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सवारी दर्ता प्रमाणपत्र नवीकरण, दुर्घटना बिमा, क्षतिपूर्ति, सजायका पाटोका विषयमा सहजीकरण गरेका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रक्तदान कार्यक्रमको उदघाटन गर्दै बुटवलका संघसंस्थाहरु आफ्नो ब्यावसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहेको बताए ।
कार्यक्रममा महासचिव योगबहादुर गुरुङले संस्थाको गरिमालाई सधै उचो राख्ने गरी रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै मजदूर र ब्यवसायीको स्वास्थ्य, सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सफल भएको बताए । नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९७ जनाले रक्तदान गरेको उनले बताए ।
यसैगरी चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप, मुटुको परीक्षण गरिएको छ । अस्पतालका डा. प्रदिप चापागाई, जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवर, सुदिप खत्री, संगिता घर्तीमगर, रिबिसा श्रेष्ठको टिमले १५० जनाको सामान्य परीक्षण, मधुमेहको ९० र ६० जनाको ईसिजी परीक्षण गरिएको छ ।