८ जेष्ठ २०८१, मंगलवार

हङकङविरुद्ध नेपालको सहज जित
  • लुम्बिनी खोज
  • ३ बैशाख २०८१, सोमबार ०९:५०

काठमाडौ, ३ बैसाख ।

त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा पूरा गरेको हो। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङ १९ ओभर ३ बलमा ९४ रनमा अलआउट भएको थियो।

सहज लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। शेखले ३४ बलमा ६ चौका प्रहार गरे। नेपालका लागि रोहित पौडेल २५ रन तथा गुल्सन झा १४ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले ८ रन बनाउँदा सन्दीप जोरा ३ र कुशल मल्ल १ रनमा आउट भए।

यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ४ विकेट लिएका थिए। ४ ओभर बलिङ गर्दै केसीले १५ रन खर्चिए। हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाएका थिए। हङकङका लागि मुर्ताजा र जिसन अलि बाहेकले दोहोरो अंक छुन सकेनन्। अलिले १७ रन तथा ओपनर अंशुमान रथ ७ रन बनाएर आउट भए। पाहुना टोलीका लागि अदित गोरावारले ८ र अजाज खानले थप ७ रन बनाए।

नेपालका लागि करणले ४, सोमपाल कामी र अभिनाश बोहोराले २-२ तथा कुशल मल्ल र मौसम ढकालले १-१ विकेट लिए। यसअघि नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पहिलो खेलमा हिजो युएईलाई ७ विकेटले पराजित गरेको थियो।