२०८१ श्रावण १२

अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ७, शुक्रबार १४:३८ गते

 

बुटवल ७ बैशाख ।
नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ।

विक्रम सम्बत् १८७१–७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।
त्यही खुशीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।
बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताए। उनले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको र यसको संरक्षण र प्रवर्द्धनमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न संघ सरकारसँग माग गरे। उनले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको बताए।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्द्धनमा सबैको साथ जरुरी रहेको बताइन्।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवर्द्धन र प्रचारप्रसारमा तीब्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा जितगढी किल्लाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अध्येताहरु निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकारहरु महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डा विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुदर्शन थापा, झपेन्द्र जिसी, कुलबहादुर केसी, क्याप्टेन किसन बहादुर थापा, गंगा बहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल, जमदार माधव पौडेललाई सम्मान गरिएको थियो।