२०८१ श्रावण १२

सुप्रिम सहकारी ठगी प्रकरणः अध्यक्ष थुनामा, ६ जनालाई धरौटीमा छाड्न आदेश
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ७, शुक्रबार १४:४३ गते

बुटवल ७ बैशाख ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा अदालतले अध्यक्षलाई थुनामा पठाउने आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि शुक्रबार सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाएको छ । त्यस्तै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ । उक्त धरौटी रकम नबुझाएपछि पुन र अछामी थुनामै रहेका छन् । बाकी चार जना रिहा भएका छन् ।
अदालतका सुचना अधिकारी अनन्तराज मरासिनिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको पनि बताए । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डाक्टर उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार भन्दा पनि बढीले प्रहरीमा उजुरी गरेका थिए ।