२०८१ श्रावण १२

देशभर कक्षा १२ को परिक्षा शुरु
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १४, शुक्रबार ०७:०१ गते

बुटवल,१४ वैशाख ।
देशभर शुक्रबार बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको परिक्षा बोडले बताएको छ ।
बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।
यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।
कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको बोडको भनाइ छ । सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ् र मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको बताइएको छ ।
यसपटक काठमाडौँमा स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र निर्धारण हुँदै आएको थियो । यसो हुँदा मिलेमतो हुने सम्भावना भएको गुनासो बढेपछि स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरीएको छ ।
हरेक विद्यालयका विद्यार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो ।