२०८१ श्रावण १२

लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १८, मंगलवार ०९:५६ गते

काठमाडौ, १८ बैशाख ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ ।
दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर सोमबार सम्मेलनको औपचारिक समापनको घोषणा गरिएको हो ।
सम्मेलनको सचिवालयका रूपमा रहेको लगानी बोर्डको कार्यालयका अनुसार सम्मेलनको पहिलो दिन आइतबार दुई वटा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको हो । सहमति अनुसार दुवै कम्पनीको संयुक्त लगानीमा काठमाडौँको रामकोटमा उक्त डेटा सेन्टर निर्माण हुने छ । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाको नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसियाबिच व्यापार प्रवर्धनमा सहकार्य गर्ने समझदारी पनि भएको थियो ।
सम्मेलनको दोस्रो दिन अर्थात् सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी ९पिपिपी० प्रवर्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स’ ९नाप० बिच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी ९पिपिपी० सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।
त्यस्तै साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । समझदारी अनुसार करिब दुई अर्ब रुपियाँ संयुक्त लगानीमा कपिलवस्तुको गोरुसिंगेमा होटल स्थापना हुने छ । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बिच पनि लगानीसम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्ने छ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्ने छ । यसबाहेक नेपाल उद्योग व्यापार महासङ्घ ९एफएनआइसी० र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबिच नेपालमा लगानी प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महासङ्घले नै सोमबार इन्डियन इन्डस्ट्रिज एसोसिएसन ९आइआइए० बिच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । । नेपाल र भारतबिचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्धनका लागि सहकार्य हुने समझदारी पत्रमा उल्लेख छ । सम्मेलनकै क्रममा मुगुको राराताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि समझदारी पनि भएको छ । रिसोर्ट निर्माणका लागि करिब एक अर्ब दस करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ ।
सम्मेलनको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी प्रवर्धनका लागि सबै राजनीतिक दल एक मत रहेको सन्देश प्रवाह गर्न सम्मेलन सफल भएको बताए । निजी लगानीको प्रवर्धनमार्फत नेपालले आफूलाई लगानीको नयाँ गन्तव्यका रूपमा उदाएको सन्देश पनि सम्मेलनमार्फत दिन सफल भएको उनको भनाइ थियो । नेपालको आर्थिक विकासको लक्ष्य निजी लगानी र विकास साझेदारको सहकार्यबाट मात्र सम्भव भएकाले नेपालमा लगानी गर्न पनि उनले लगानीकर्तालाई अपिल गरे ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्मेलनबाट नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह भएको बताए । लगानीको संरक्षण र लगानीको मुनाफा लैजाने सन्दर्भमा सरकार प्रस्ट रहेको र लगानीकर्ताको सहजताका लागि कानुन सुधारमा लचिलो रहेको उनको भनाइ थियो । नेपालको प्राकृति स्रोत, बहुल युवा समूह र बढ्दो उपभोग शैली नेपालमा लगानीका लागि पर्याप्त अवसर रहेको प्रमाणहरू रहेको पनि उनले बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दुई दिनको सम्मेलनमा नेपालसहित ५५ देशका दुई हजारभन्दा बढीले सहभागिता जनाएको जानकारी दिए । त्यसमध्ये करिब आठ सय विदेशीको सहभागिता रहेको उहाँले उल्लेख गरे । सम्मेलनका क्रममा १९ वटा आशयपत्र माग गरिएका परियोजनासहित कुल १५२ वटा परियोजनाहरू सोकेसमा राखिएको पनि उनले बताए । सम्मेलन अवधिभर १२ वटा विषयगत सत्रमा छलफल भएको र त्यसले नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सहयोग पु¥याएको उनको भनाइ थियो ।
सोमबार मात्रै नवीकरणीय ऊर्जा, नवप्रवर्तनात्मक वित्तीय वातावरण, हरित र उत्थानशील व्यवसायमा लगानी अवसर, सबल पूर्वाधार र परिवहन निर्माण, हरित वित्त, पर्यटनमा लगानी, कृषिको निर्यात सम्भावना, उत्पादनमूलक क्षेत्र, स्टार्टप प्रवर्धन, आइसिटीमा लगानीको अवसर, पूर्वाधार र सेवा क्षेत्रमा सार्वजनिक निजी साझेदारी विषयमा छुट्टाछुट्टै छलफल सत्र भएको थियो । त्यसअघि पहिलो दिन उद्घाटन सत्रसहित नेपालका लगानीको अवसर र नेपालमा लगानीका सफलताका कथा विषयक सत्रमा सरोकारवालाबिच छलफल भएको थियो ।