७ जेष्ठ २०८१, सोमबार

स्काउट आधारभूत तालिम समापन
  • लुम्बिनी खोज
  • १९ बैशाख २०८१, बुधबार १४:२५

बुटवल १९ वैशाख ।
स्थानीय स्काउट समिति बुटवलको आयोजनामा स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी तालिम बुधबार समापन भएको छ ।
तालिम समापन समारोहमा बुटवल उपमहानगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख सावित्रादेवी अर्याल, लुम्बिनी प्रदेश स्काउटका प्रमुख आयुक्त दिनानाथ भट्टराई, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, रोटरी इन्टरनेसनलका सहायक गभर्नर राजेन्द्र ढकाल, इडन बोर्डिङका अध्यक्ष एवं जनप्रतिनिधि नकुल शाही ठकुरी, नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक सीता माया तनावसेलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्काउट तथा स्काउट तालिमको बारेमा चर्चा गरिएको थियो । समापन समारोहमा सहभागीको तर्फबाट सुनिता पन्थ र ब्युटी रसालीले समेत धारणा राखेका थिए ।नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा ६ दिन ५ रातसम्म बुटवल उपमहानगरपालिका अन्तर्गतका १२ वटा सामुदायिक र ६ वटा संस्थागत गरि १८ वटा विद्यालयका महिला शिक्षकहरु तालिममा सहभागि थिए । उनीहरुलाई पाँच क्षेत्र शारीरिक, बौद्विक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । तालिमबाट सिकेको ज्ञानपछि शिक्षकहरुले विद्यालयमा बालबालिकालाई जीवन उपयोगी शिक्षा दिने छन् । स्थानीय स्काउट प्रमुख आयुक्त नवराज खरेलले विद्यालय तहमा विद्यार्थीहरुलाई स्काउटमा आवद्ध गराएर प्रदान गरिने शिक्षाले सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने मद्दत मिल्ने उद्देश्यसहित स्काउट तालिम गरिएको बताए ।
स्थानीय स्काउट प्रमुख आयुक्त नवराज खरेलको अध्यक्षतामा परिषद् सदस्य गुणाराम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।