२०८१ श्रावण १२

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २२, शनिबार १४:०९ गते

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय बौद्ध गोष्ठी शनिवारदेखि लुम्बिनीमा सुरु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए । उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताए
गोष्ठीमा बोल्दै विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउनेगरी प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताए । राष्ट्र तथा व्यक्तिहरुबीचमा असमझदारी, पर्यावरणीय हानी नोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनिकरण गर्नका लागि बुद्धका उपदेशहरुको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरुले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरुको समाधान खोजिनुपर्ने विज्ञहरुले उल्लेख गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा शुरु भएको “विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता” विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरुले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरु परिवर्तन हुने बताएका हुन् । वातावरणीय असन्तुलन, व्यापारिक प्रतिष्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालिन ब्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरुले बताए ।
थाइल्याण्डका प्रा.डा.भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए । विश्वमा मैत्री, करुणा र शान्ती कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले यसलाई सघाउ पु¥याउने उनले बताए ।
त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । विश्वमा झण्डै १ अर्ब बौद्ध अनुयायी रहेको भन्दै उनीहरुलाई जोड्दै बौद्ध शिक्षाको प्रवद्र्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दै जाने उनले बताए । नेपालको शैक्षिक योजनाहरुमा बौद्ध शिक्षालाई जोडिने उनको भनाइ थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्धिक विकास मात्र नभई व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । उनले अन्तर्राष्ट्रिय सेमिनारले एक उत्कृष्ट सफलता, सहयोगलाई बढावा दिने, नवप्रवर्तनलाई प्रेरणा दिने र समग्र मानवताको उन्नतिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई ब्यवहारिक जीवनमा प्रयोग गर्न आवस्यक रहेको बताए । “बुद्ध शिक्षाका बारेमा धेरैलाई थाहा छ र ब्यवहारमा उतार्ने थोरै छन् त्यसैले यो शिक्षालाई व्यवहारमा उतार्नेतर्फ सबैले ध्यान दिनुपर्छ”, उनले भने ।
गोष्ठीको उद्घाटन कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधीका रुपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मंंगोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछे लगायतले शुभकामना दिदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।
विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा आज विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्टोनीयाका डा. शोभित शाक्य, बङगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे ।
गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहन सिंह गुरुङ, भिक्षु क्याल्सन लगायतले कार्यपत्रमाथी टिप्पणी गरेका थिए ।
गोष्ठिमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागीता छ ।
गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुने छ । जसमा आचार्य बालकृष्ण, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.बिशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटी र डा. विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ ।