२०८१ श्रावण १२

सत्यको जित नभएसम्म न्याय पाइँदैन ः प्रदेश प्रमुख
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २१, शनिबार ०१:४८ गते

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सत्यको जित हुने अवस्था नभएसम्म वास्तविक रुपमा न्याय पाउन नसकिने बताएका छन् ।
उच्च अदालत बार एशोसिएशन बुटवलको २८ औं वार्षिक साधारणसभा तथा ‘लुम्बिनी न्याय दर्पण अंक ४’ विमोचन समारोहमा बोल्दै प्रदेश प्रमुख शेरचनले अझैसम्म पनि श्रमजीवी अन्यायमा बाँचिरहनुपर्ने अवस्था रहेको औंल्याए ।
‘सम्पत्ति नै सुखको साधन ठान्ने राज्य व्यवस्था रहेसम्म, त्यस्तै खालको न्यायप्रणाली रहेसम्म गरीबले न्याय पाउँदैनन्’ प्रदेश प्रमुख शेरचनले भने ‘त्यसैले को सत्यको पक्षमा छन्, को असत्यको पक्षमा छन्, चिन्नुपर्छ ।’
‘भ्रष्टाचार र कमिशनतन्त्र एक नम्बर हो, अहिलेसम्म पनि भ्रष्टाचार र कमिशनतन्त्र व्याप्त छ’ सामाजिक अभियन्ता कानून व्यवसायी र न्यायकर्मीले यसमा हेक्का राख्नैपर्छ’ उनले भने ‘हिजो चप्पल लगाएर हिंड्ने, सीमित सम्पत्ति हुने नेताका आज कसरी महल बने, कसरी बंगला बने ? सत्यतथ्य पत्ता लगाउन सके बल्ल जनताले न्याय पाउन सक्छन् ।’
‘हामी परनिर्भरतामा बाँच्ने परिस्थिति रहेसम्म सबै जनताले न्याय पाएको अनुभूति हुँदैन’उनले भने ‘हामीसंग स्वाभिमान भएन भने देशलाई चिन्न सक्दैनौं । त्यसको लागि स्वाभिमानी भावना र राष्ट्रिय एकता हुनुपर्छ ।’
दुषित विचार बोकेर विदेशीले गर्ने सहयोग वास्तविक सहयोग नभएको भन्दै उनले को साँच्ची राष्ट्रवादी हो, को देशभक्त हो, कसको राष्ट्रवाद बनावटी हो चिन्नुपर्ने बताए ।
सो अवसरमा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीश शिवराज अधिकारीले अब परम्परागत होइन विशिष्टीकृत न्यायप्रणालीको आवश्यकता औल्याए । ‘न्यायपालिकाभित्र पनि समस्या छ, न्यायपालिकाभित्र राजनीतिकरणले समस्या आएको हो’ उनले भने ‘न्यायपालिकाको एउटै छाताभित्र बार र न्यायालय हुने भएकाले सहकार्य र समन्वयकारी भूमिकाबाट न्यायपालिकालाई सुदृढ बनाउनुपर्छ ।’
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले न्याय क्षेत्र धर्मराएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘संघीयतालाई जसरी बुझिनुपर्ने हो, त्यसरी बुझिएन, कानून कार्यान्वयनमा कन्जुस्याईं गरियो’ उनले भने प्रदेशमा पनि संसदीय अभ्यासमा मिल्ने नमिल्ने सबै प्रयास गरियो, त्यसो हुनु राम्रो होइन ।’
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश अग्निप्रसाद थपलिया, वरिष्ठ अधिवक्ताहरु नेत्रबहादुर नेपाल, तेजप्रसाद कणेल, हरिप्रसाद पाण्डे, बेनबहादुर पौडेल क्षेत्री, शालिकराम बञ्जाडे, प्रा. डा. बुद्धबहादुर थापा, विनोद गौतम, गोपाल पाण्डे ‘अल्छी’, बाबुराम पौडेल लगायतले बोल्दै न्याय सम्पादनमा गुणस्तरीयताको आवश्यकता औल्याएका थिए ।
सो अवसरमा न्याय दर्पण प्रकाशन समितिका संयोजक घनश्याम पन्त, बार एकाईका पूर्व अध्यक्ष गोकर्णसिंह थापा, उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहनसागर बस्याल, नवलपरासी बार एकाई अध्यक्ष चुडाबहादुर थापा लगायतले बोलेका थिए ।
सो अवसरमा वरिष्ठ अधिवक्ता नेत्रबहादुर नेपालसहित बार एकाईमा आबद्ध वरिष्ठ अधिवक्ताहरु, बार एकाईका पूर्वअध्यक्षहरु, प्रकाशन समितिका संयोजकm सम्पादक तथा सदस्यहरु लगायतलाई सम्मान गरिएको थियो ।
बार एकाईका अध्यक्ष जोगबहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष ज्ञानु के.सी.को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव गोविन्दप्रसाद मरासिनीले गरेका थिए ।
साधारणसभाको बन्दसत्रले सचिव गोविन्दप्रसाद मरासिनीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नागेन्द्र यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
बार एकाईको नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन हुने कार्यक्रम रहेको बार एकाईका अध्यक्ष जोगबहादुर खत्रीले जानकारी दिए ।