२०८१ श्रावण १२

बुटवल बजार चलायमानका लागि सुधारमा जोड
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ४, शुक्रबार १३:५५ गते

 

बुटवल, ४ जेठ ।
आर्थिक मन्दिका कारण बुटवल बजार सुस्ताएपछि चलायमानका उपायहरु खोजिन थालेको छ । यहाका ब्यवसायीहरु बढी मर्कामा परेको भन्दै विभिन्न संघ सस्थाहरुले बजार चलायमानका लागि छलफलहरु गर्दै आएका छन् । यसै सन्र्दभमा शुक्रवार रुपन्देही व्यापार संघले “मुख्य बुटवल वजार चलायमानका आधारहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वजारमा आएको व्यवसायीक मन्दी र विस्थापनलाई कसरी कम गर्न सकिन्छ भन्दै उपायको खोजी गर्न सो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सानासाना सुधारका कुरा र उपभोक्ताहरुको चाहानाहरुको पहिचान गरि अगाडी बढ्न सकिएमा वजार चलायमान हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा सहभागी व्यवसायीहरुले स्थानिय शहर वजारको संरक्षण र विकासको मुख्य जिम्मेवारी स्थानिय सरकारको भएको हुदा त्यसका लागि गम्भिर बन्न आग्रह गरेका थिए । उनीहरुले स्थानिय सरकारले व्यवसायीहरुसंग कर र राजश्य मात्र उठाउने होइन कि वजारको स्थायित्वका लागि आवश्यक भौतिक निमार्ण तथा व्यवसायी मैत्री वातावरणको निमार्ण गर्ने कुरामा ध्यान दिन सुझाव दिदै चर्को घरभाडाले आफुले वजार छाड्नु परिरहेको बताएका थिए ।
कार्यक्रममा अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठ र सुरेश सापकोटाले बुटवलको वजारको विशेषता र पलायनको कारण तथा त्यसको रोकथामका उपायका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । मुख्य बुटवल वजार चलायमानका आधारहरु शिर्षकमा अवधारणा प्रस्तुत गर्दै अनुसन्धानकर्ता श्रेष्ठ र सापकोटाले वजार तथा शहरहरुको स्थापना र विकासको छुट्टाछट्टै आधारहरु हुने हुदा त्यसको चलायमान गराउने आधारहरु पनि त्यसै अनुसार खोज्नु पर्ने सुझाव दिए । अवधारणा पत्रमा बुटवलको पहिचान र विविधता भनेको आर्थिक शहर भएको हुदा त्यसको विकास र चलायमानका आधारहरु त्यसैमा खोज्नु पर्ने सुझाव दिइएको थियो ।
कार्यक्रममा राखिएका सुझाव र जिज्ञाशाहरुमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको पहिचान र विविधतालाई बचाएर चलायमान बनाउन स्थानिय सरकारको सक्रियताले मात्र सम्भव नहुने धारणा राख्दै जनताको विकासको चाहना र व्यवसायको संरक्षणमा सबैको भूमिका जरुरी रहेको बताए ।
संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले हिजोको सोंच र शैलीमा गरिने व्यापार व्यवसायले वजारलाई चलायमान गराउन नसक्ने धारणा राख्दै वजारमा विविधताको खोजी गर्न आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको वजार पुरानो आर्थिक केन्द्र रहेका कारण त्यसलाई त्यहि रुपमा अगाडी बढाउन यसको समस्याको पहिचान गर्न जरुरी रहेको बताए ।
रुपन्देही उद्योग संघका द्वितिय उपाध्यक्ष हरि बहादुर खत्रीले वजार विस्तारका कारण पछिल्लो समयमा उपभोक्ताका लागि बुटवल अब बाध्यता नबनेको हुदाँ बुटवललाई चलायमान बनाउनका लागि नयाँ ढंगको सोंच तथा सानासाना सुधारमा ध्यान दिनु जरुरी भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, वडा नं। ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, संघका अध्यक्ष दिपक प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव फर्सुराम पन्थ, सदस्य केदार नेपाल, राजु श्रेष्ठ, हरिबहादुर सुनार, व्यवसायीहरु मिनप्रसाद नेपाल, तेजेन्द्र सापकोटा, भिमलाल न्यौपाने, विष्णु पाण्डे, पञ्चायन टोल किवास संस्थाका अध्यक्ष लक्ष्मी प्रधान, भुवनेश्वरी टोल विकास संस्थाका अध्यक्ष पदम राना, जनकल्याण टोल विकास संस्थाका अध्यक्ष गिता पन्थ लगायतले आर्थिक मन्दिले बुटवल बजारमा पारेको प्रभावका बारेमा चर्चा गरेका थिए ।