२०८१ श्रावण १२

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ५, शनिबार १४:१४ गते

देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाउने निर्णय
लुम्बिनी, ५ जेठ ।
२५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरिएको छ । लुम्बिनी विकास कोष सहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले संयुक्त रुपमा बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने भएका हुन् ।
लुम्बिनी विकास कोषद्धारा गठित रामग्राम देवदह समन्वय उपसमितिको देवदहमा बसेको बैठकले सरसफाई, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, यशोधरा उत्सव एंव दीप्रज्वलन गर्ने निर्णय गरेको हो । कोषका कोषाध्यक्ष एंव उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बौद्धसंघसंस्थाहरु सहितको बैठकले देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाउने निर्णय गरिएको जानकारी दिए ।
बैठकले जेठ ८ गते विहान ७ बजे देवदहका बुद्धसँग जोडिएका क्षेत्रहरुमा सरसफाई, विहान ११ बजेदेखि नगरस्तरीय बुद्धमावली र देवदह बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरिएको उनले बताए । बुद्धको मावलीका रुपमा चिनिएको देवदहमा बुद्धजयन्तीका दिन बौद्ध स्थल र घरघरमा दीप प्रज्वलन गर्ने समेत निर्णय भएको कोषाध्यक्ष भट्टराईले बताए ।
यस्तै जेठ ९ गते देवदह नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका संस्थाहरुसँग सहकार्यमा देवदहमा बुद्धजयन्ती समारोहमा सहकार्य र सहभागी हुने एवं जेठ १० गते लुम्बिनीमा हुने मूल समारोहमा देवदहबाट प्रतिनिधित्व गर्ने निर्णय भएको लुम्बिनी विकास कोष देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।
बैठकमा लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, देवदह नगरपालिका वडा न. ८ का वडाअध्यक्ष हरि पाण्डे, देवदह धर्मोदय सभाका अध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।