२०८१ श्रावण १२

बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिन मनाइँदै
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ८, मंगलवार ११:२५ गते

बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्नेमा उपाध्यक्ष लामाको जोड

लुम्बिनी,८ जेठ ।
लुम्बिनी विकास कोषले २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन लगातार विविध कार्यक्रम गरी मनाउने जनाएको हो । बजेटको सुनिश्तिता नहुँदा बुद्धजयन्तीको तयारीमा ढिलाई भएपनि अब तीन दिन भव्यताका साथ मनाउने गरी कार्यत्रम तय गरिएको कोषले जनाएको छ ।

विहिबार जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए । उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह समेत गरे । उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चिता नहुँदा निकै कठिनाई भोगेको बताउँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए । मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुुटनितिक नियोग, विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ । पत्रराकार सम्मेलनमा प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एंव कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी सहित रामग्राम, कपिलबस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।
बुधबार ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।

लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरी त्रिदेशिय मोटरसाईकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न यसै पत्रकार सम्मेलन मार्फत अपिल गरेको छ ।

पत्रकार सम्मेलन अघि लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लब बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवद्र्धनमा मिडियाको भूमिका बिषय अन्तरक्रिया कार्यक्तम गरेको थियो । उक्त अवसरमा कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राई लगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफुहरु पत्रकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए । यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमा अध्यक्ष नरेश केसी, कोषका प्रेस कसल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर पोखरेलले बोल्दै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरु राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलबस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एंव तीनै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।