२०८१ श्रावण १२

घुम्ति व्यवसाय र बाढी व्यवस्थापन गर्न बुटवल उवासंघको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १०, बिहीबार ०१:२१ गते

बुटवल १० जेठ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले घुम्ति व्यवसायलाई व्यवस्थित गर्न आग्रह गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । संघको पदाधिकारीको टोलीले बुधबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई कार्यकक्षमा भेटघाट गरी ज्ञापन पत्र बुझाएको हो ।
संघले विना दर्ता सञ्चालन गरिने त्यस्ता घुम्ति व्यवसायका कारण दर्ता गरेर राज्यलाई राजश्व तिरेर सञ्चालन गरेका व्यवसायीलाई समस्या भएकाले विना दर्ता सञ्चालित त्यस्ता व्यवसायलाई व्यवस्थापन गर्न आग्रह गरिएको हो । ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष हरिप्रसाद अर्यालले त्यस्ता व्यवसायलाई व्यवस्थित गर्न सकियो भने दर्ता प्रकृयामा आउँदा राजश्व संकलनमा पनि सकारात्मक प्रभाव पर्ने र दर्ता गरेर सञ्चालन गरेका व्यवसायीलाई पनि राम्रो हुने बताए ।
‘बुटवल उपमहानगरपालिका क्षेत्र भित्र अवैधानिक रुपमा फर्निचर, ग्रील र सिरक डसना बनाउने घुम्ती व्यवसायीका कारण वैधानिक रुपमा कर, राजस्व तिर्ने र स्थानीय तहमा दर्ता भई कारोबार गर्ने व्यवसायीलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्ने हंदा अविलम्ब यस प्रकारका घुम्ती व्यवसायीलाई निरुत्साहन र नियन्त्रणका लागि अनुरोध गर्दछौ ।’ ज्ञापन पत्रमा भनिएको छ ।
त्यस अवसरमा संघका अध्यक्ष अर्याल सहित उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कार्यकारी निर्देशक मदनकुमार कार्की, परामर्शदाता कुशुम ज्ञवाली लगायत सहभागि थिए ।
त्यसै अवसरमा सम्भावित बाढीबाट हुन सक्ने जोखिम व्यवस्थापनको लागि समेत आग्रह गरिएको छ । बुटवल उप–महानगरपालिका वडा नं.३ बमघाट चुरे पहाड र गोलपार्क क्षेत्रको वर्षाको पानीको प्राकृतिक निकासको रुपमा सिद्धार्थ राजमार्गबाट भूमिगत गराइ पुलचोक, इलाका प्रहरी कार्यालय पूर्व र नेपाली सेना, नेपाल खानेपानी संस्थान पश्चिम पट्टीका खोल्साको पानीको प्राकृतिक निकासलाई मानव निर्मित भौतिक संरचनाले बहाव क्षेत्र साँघुरो बनाउदै गएका कारण केही दिन अगाडिको मुसलधारे वर्षाका कारण आएको बाढी पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिको लुम्बिनी प्रदेश कार्यालय हुँदै बुटवल बजारको मुख्य व्यापारिक क्षेत्र अमरपथको मूल सडकमा पस्दा अधिकांश पसलमा ठूलो धनमालको नोक्सान भएको थियो ।
त्यस्तै बुटवल उप–महानगरपालिकामा वडा नं. ४ र ५ मा पर्ने अमरपथको उत्तर खण्ड (काठेपुल) सडकमा हरेक वर्षायाममा हुने डुबानको कारणले यस क्षेत्रका व्यवसायीहरुले ठुलो नोक्सानी व्यहोर्नु परेको छ । त्यसकारण यसको तत्कालिन र दीर्घकालिन समाधानको खोजी गर्न संघले आग्रह गरेको हो ।
यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने बुटवलको मुख्य बजार हिउँदयाममा नदि किनारमा बनाईने अस्थायी बजार जस्तै हुने र त्यसले सरकारको कर, राजस्व, बहाल कर, व्यवसाय कर र सम्पत्ती करका साथै आयकरसंगै रोजगारीमा समेत थोरै धेरै प्रमावित पार्ने भएकाले समयमै त्यसको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष अर्यालले बताए ।
त्यसको व्यवस्थापनको लागि बमघाट क्षेत्रबाट पुलचोक पूर्व आएपछि ठाउँठाउँमा खोल्सामा ड्याम बनाई माथीबाट आउने माटो, ढुङ्गा, मुडा, काठमा दाउरा समेतका बस्तुहरु थिग्रने र पानीको गतिलाई कम गराउन सकिने, इलाका प्रहरी कार्यालय दक्षिण छेउबाट तिनाउ नदीमा जाने गरी निर्माण भएको ड्राइभर्सनलाई तत्काल खोली वैकल्पिक व्यवस्थापन गर्नु पर्ने, जिर्ण भएको बुटवल उप–महानगरपालिकाको स्वामित्वमा रहेको साविक महिला सिल्पकलाको भवन हटाउनु समेत सुझाव दिईएको छ ।
त्यस्तै दीर्घकालिन सोच सहित खोल्साको पहिलेको बहाव क्षेत्र संरक्षणको अभियान संचालन गर्नु पर्ने, हाल साविक गर्ने बहानामा अतिक्रमित खोल्सा बहाव क्षेत्रलाई पुनस्र्थापित गराउनु पर्ने, पानीको बहावलाई प्रभावित गर्ने गरी भएको सार्वजनिक निजी निर्माणलाई घटाउनु पर्ने, सापकोटा मिष्ठान्न भण्डार र मुक्तिनाथ कस्मेटिक बिचबाट पश्चिम जाने बाटोको उचाई अमरपथ भन्दा होंचो बनाई कथमकदाचित ओभरफ्लो भएर आउने पानी त्यही गल्ली भएर खोल्सामा जाने प्रवन्ध मिलाउनु पर्ने सुझाव दिईएको छ ।
बाढिका कारण मुख्य बजार क्षेत्रमा हुने क्षतिका कारण आर्थिक मन्दिको मारमा परेका व्यवसायीलाई विशेष राहतका साथै घरदैलोको स्थानीय सरकारले लिदै आएको कर तथा राजश्व छुटको घोषणा गरोस भन्ने समेत आफूहले चाहेको अध्यक्ष अर्यालले बताए ।
त्यस अवसरमा नगरप्रमुख पाण्डेले संघले उठान गरेका कुराहरुमा आफू सकारात्मक रहेको र यी समस्या समाधानको लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको संघले जनाएको छ ।