२०८२ बैशाख २९

शंकरनगर खानेपानी सुरक्षित खानेपानी वितरणमा मुलुककैं सर्वोत्कृष्ट
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २१, शनिबार ०२:२१ गते

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नं. २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमैं सर्वोत्कृष्ट भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरे । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरु मध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो ।
विभागले खानेपानीको दिगो व्यवस्थापन, व्यवस्थित तथा सुरक्षित खानेपानी वितरणमा शंकरनगर खानेपानीले उत्कृष्ट कार्य गरेको जनाएको छ । विभागले बर्दिवास—महोत्तरी, पाँचधारा—काठमाडौं, मानगढ—मोरङ, गजुरी—धादिङ, भादगाउँ करादी खिरखाँदी—तनहुँ, लेखनाथ—कास्की, प्रगतिनगर—नवलपरासी, शंकरनगर— रुपन्देही, सुर्खेत उपत्यका—सुर्खेत, अत्तरिया—कैलाली समेतका दश वटा शहरी खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेको छ ।
खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले आगामी दिनमा शंकरनगर खानेपानीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत उत्तिकैं महत्वपूर्ण काम गर्ने बताए ।