२०८१ श्रावण १२

सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्धः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १०, बिहीबार ०९:३९ गते

 

बुटवल १० जेठ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतम बुद्ध सत्ताको सिंहासन त्यागेर शान्ति खोज्ने विश्वको पहिलो मानव भएको बताएका छन् । २५६८ औं बौद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले सत्ताको लागि हिँसा गर्ने मानव इतिहासमा सत्ता त्यागेर शान्तिको खोजीमा निस्किने बुद्ध पहिलो मानव भएको बताएका हुन् ।

जारी सन्देशमा भनिएको छ, मानवीय हित, समानता, कल्याण र शान्ति प्राप्तिको दार्शनिक अध्ययन, अनुसन्धान गर्न राज दरवार र सिंहासन त्यागगरी पैदल यात्रा गर्दै गाँउ– गाँउ, बस्ती–बस्ती पुग्ने महामानव नेपाली हुनुले हामी नेपालीको गौरवतालाई उँचो बनाएको छ । सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरु देखिएको विश्व राजनितीको इतिहासमा आफ्नै सिंहासन त्याग गरी दृढ संकल्पका साथ जनताको माझमा पुग्ने विश्वका एक मात्र पहिलो मानव गौतम बुद्ध नै हुनुहुन्थ्यो ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति, सम्मानमा आधारित समाज बनाउने सन्देश दिएको र जीवनलाई प्रगतिशील कार्यमा लगाएर समाजलाई सामाजिक न्याय तर्फ रुपान्तरण बुद्धको मुल सन्देश हो ।सन्देशमा उल्लेख छ । विश्वभरि देखिएका विभिन्न हत्या, हिंसा, घृणा, दमनका रुपहरुको निरुपणमा बुद्धको सन्देश अति सान्दर्भिक छ भन्ने मलाई लाग्दछ ।ू

त्यसैगरी किराँत समुदायले मनाउँदै आएको उभौली पर्वले आफ्नै मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको प्रदेश प्रमुख शेरचनको भनाइ छ ।