२०८१ श्रावण १२

रुपन्देही सुपर लिग ःलुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २१, शनिबार १६:५० गते

बुटवल,२१ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’अन्तर्गत शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले प्रोफेसनल मास्टर्स–११ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको प्रोफेसनलले निर्धातिर ५० ओभरको खेलमा २८.३ ओभरमा सबै विकेटको क्षतिमा जम्मा ९९ रन मात्र बनाउन सक्यो । उसका लागि प्रवेश थापाले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका लालबहादुर अधिकारीले १० ओभर बलिङ गर्दै ४ मेर्डन राखी २१ रन खर्चेर ५ विकेट लिए । यस्तै, धिरज शाहीले ३, दुर्गेश गुप्ता र अजयकुमार चौहानले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १५ ओभरमा विना क्षति एक सय रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले नटआउट ६० र प्रज्ज्वल थापाले नटआउट ३४ रन बनाए । लुम्बिनी खुकुरीका लालबहादुर अधिकारी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । आइतबार मेलवर्न क्रिकेट क्लब (एमसीसी) र देवदह क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।