२०८१ श्रावण १२

गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १७, बिहीबार ०९:३३ गते

बुटवल, १७ जेठ ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । चन्द्रकोट गाउपालिकाको बसपार्कमा कपडा संकलन बक्स राखिएको छ । संकलित कपडाहरुलाइ पुनः प्रशोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिनेछ ।

चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज खत्रीले जिल्लामै पहिलो पटक चन्द्रकोटमा कपडा बैंक स्थापना गरिएको बताए । उनले उक्त कपडा बैंकमा संकलीत भएको कपडा रिसाइकल गरेर आवश्यकताका आधारमा वितरण गरिने बताए ।

पालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंक (कपडा बैंक) को सुरुवात चन्द्रकोटबाट गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रमुख प्रसासकिय अधिकृत बुद्ध पौडेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । उनले अरुले प्रयोग गरेका कपडाहरु रिसाइकल गरेपछि सबैले आवश्यकताका आधारमा प्रयोग गर्न मिल्ने प्रष्ट पारे ।

कपडा बैंकका अध्यक्ष कमल जिसीले गुल्मीमै पहिलो पटक चन्द्रकोटमा बैंक स्थापना गरिएको भन्दै खुशी व्यक्त गरे । उनले कपडा बैंक सञ्चालनमा ल्याएको छोटो समयमै ७ सयभन्दा बढी घरधुरीलाई कपडा वितरण गरिसकिएको बताए । विभिन्न पालिकाको अनुरोधमा कपडा बैंकले कपडा वितरणदेखि बैंक स्थापना समेत गर्दै आएको छ ।