२०८१ श्रावण १२

बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २३, बुधबार १०:४२ गते

बुटवल,२३ जेठ ।

बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ।

मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे।
कार्यक्रममा बोलदै मन्त्री अर्यालले नेपालमा रोजगारीको अवसर हुँदा हुँदै पनि युवा विदेशमा रोजगारीमा जाने गरेको बताउँदै अब नेपालमै रोजगारीको अवसर सिर्जना गर्न रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताए। उनले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाम्रा विश्वविद्यालयले अव सिपमा आधारित शिक्षा दिनुपर्ने बताए । मास्टर डिग्री गरेका युवाहरु सीप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकोले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताए ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला बिहीबारसम्म सञ्चालन हुनेछ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा श्रमाधान रोजगार मेला भएको हो।
मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र ७ सय जनाले मेलाबाट रोजगारी प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन ।
मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिनेछ।