२०८१ आश्विन ४

नवीनमा विद्यालय सुधार तथा विकास योजना निर्माण कार्यशाला
  • लुम्बिनी खोज
  • २०८१ असार १९, बुधबार १४:२५ गते

बुटवल १९ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलमा विद्यालय सुधार योजना तथा विद्यालय विकास योजना निर्माण कार्यशाला बुधबार सम्पन्न भएको छ ।
विद्यालयले २०७६ देखि २०८० सम्म निर्माण गरेको विद्यालय सुधार योजनाको समयावधि समाप्त भएकोले विगतको योजनाको व्यापक समीक्षा गरी कार्यान्वयन पक्षमा करिब ८० प्रतिशत योजना सम्पन्न भएका र करिब २०प्रतिशत योजना सम्पन्न हुन बाँकी रहेको  प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । उनका अनुसार उक्त बाँकी रहेका प्राय योजनाहरू भौतिक पूर्वाधारसँग सम्बन्धित रहेका छन् । २०८१ देखि २०८६ सम्मको लागि राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइको सुनिश्चितता हुने गरी विद्यालय सुधार योजना निर्माणको लागि कार्यशाला गरिएको हो । त्यस्तै विद्यालयमा विज्ञान समूह कक्षा ११ र १२ अध्यापन हुने भएकोले नेपालमा विज्ञान समूह सञ्चालन भएका सामुदायिक विद्यालयहरूमध्ये विद्यार्थी संख्या बढी भएका विज्ञान समूहको उपलब्धि स्तर बढी भएका र राम्रो कार्यसम्पादन भएका ११७ वटा सामुदायिक विद्यालयहरू नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छनौट गरी विज्ञान विषयको पठनपाठन सुधार गर्न भौतिक, रसायनिक र जीव विज्ञान प्रयोगशालालाई सवलीकरण गर्न विद्यालय विकास योजना विद्यालय सुधार योजनाको पूरकका रूपमा निर्माण गर्नको लागि पनि विद्यालयले कार्यशाला आयोजना गरेको हो ।
उक्त कार्यशालामा बुटवल उपमहानगरपालिका वडा नं. ११ वडा सदस्य मायादेवी दर्नालको अध्यक्षतामा शिक्षाविद प्राध्यापक आनन्दमान सिंह शाक्य, सहप्राध्यापक लीला बल्लभ ढकाल, बुटवल उपमहानगरपालिका युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप शाखा प्रमुख सहायक निर्देशक कोपिला ज्ञवाली, पूर्व जिल्ला शिक्षा अधिकारीहरू भोज बहादुर के.सी., मतिराज पौडेल, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, सदस्यहरु भरत कुमार रसाली, राजेन्द्र ढकालले धारणा राखेका थिए । त्यस्तै अभिभावकहरु बासुदेव भुसाल ,केशव श्रेष्ठ, नारायण बन्जाडे, राजाराम बि.क., सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, जीव विज्ञान संयोजक रोशन तिवारी, रसायन शास्त्र संयोजक जनार्दन पौडेल, भौति शास्त्र संयोजक बाबुराम पौडेल, जीव विज्ञान शिक्षक बिक्रम रिजाल, ICT संयोजक राकेश अग्रहरी, प्रशासन सहायक विशाल रावत, नवीन बाल क्लबका अध्यक्ष अमिसन थापा, विज्ञान समूहकी छात्रा आस्था पाण्डे, समिक्षा जी.सी.लगायतले सग पनि कार्यक्रममा छलफल गरिएको थियो । कस्तो विद्यालयलाई राम्रो विद्यालय मान्ने, विद्यालयका राम्रा पक्षहरु, विद्यालयलाई राम्रो बनाउन गर्नुपर्ने कार्य र विद्यालयलाई अझ राम्रो बनाउन के के समस्या तथा चुनौतीहरू आउन सक्छन् भन्ने विषयमा व्यापक छलफल गरिएको कार्यशालामा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रस्तुतिकरण गरेका थिए ।
विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा, कक्षा ९–१२ प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ कक्षा ११ र १२ मा विज्ञान समूह, व्यवस्थापन समूहमा होटल व्यवस्थापन सहित कानुन समुह र शिक्षा समूहमा ऐ.गणित, अंग्रेजी र नेपाली पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा ४,६८१ जना विद्यार्थीहरू र १७७ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेका छन् ।