२०८१ श्रावण १२

रुपन्देही सुपर लिग ः लुम्बिनी खुकुरी सुपर फोरमा
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २५, बुधबार १६:३८ गते

बुटवल,२५ फागुन ।

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बुधबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै जित निकालेको छ । जितसँगै खुकुरी सुपर फोरमा प्रवेश गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल बनायो । उसका लागि लालबहादुर अधिकारीले ३१ र निश्चल चौधरीले २३ रन बनाए । बलिङमा जीआरका सन्दीप सुनारले ४, विनय घर्ती क्षेत्री र लोकेश बमले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको जीआर २९.४ ओभरमा सबै विकेटको क्षतिमा ९० रनमै समेटियो । उसका लागि लोकेश बमले ६४ र विशाल भुसालले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ७.४ ओभर बलिङ गर्दै २ मेर्डन राखेर १८ रन खर्चेर ५ विकेट लिए । यस्तै, लालबहादुर अधिकारीले २, साहव आलम, दुर्गेश गुप्ता र धिरज शाहीले समान १–१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । बिहीबार बुद्ध क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।