२०८१ भाद्र २३

छात्रवृत्ति परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १२, शनिबार १२:२९ गते

हेटौँडा १२ साउन ।
हेटौँडामा निःशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
सानोठिमी भक्तपुरद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ। हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविबाट चारजना र हेटौँडा उपमहानगरपालिका– २ मा रहेको सिद्धार्थ माविबाट एकजना पक्राउ परेका छन् ।
सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका– १२ का २० वर्षीय रमेश यादव पक्राउ परेका छन्। उनलाई बारा पचरौता गाउँपालिका–५ का राकेशकुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
यस्तै, भुटनदेवी मावि परीक्षा केन्द्रबाट बाराको परवानीपुर नगरपालिका– २ बस्ने २० वर्षका नरेन्द्र महतोलाई रौतहट घर भएका १९ वर्षका असाब आलमको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका– ८ का १५ वर्षका रूपेश यादवले सोही स्थानका १८ वर्षका निमेशराय यादवको परीक्षा दिइरहेको र सर्लाहीको विष्णु गाउँपालिका– ७ का १८ वर्षका राजीवकुमार राउतले सिराहाका १८ वर्षका ललनकुमार यादवको परीक्षा दिएको अवस्थामा पक्राउ गरिएको छ।

भुटनदेवी परीक्षा केन्द्रबाटै रौतहटको गरुडा नगरपालिका– २ का १८ वर्षका लालबाबु सहनीलाई पक्राउ गरिएको छ। उनले सर्लाहीका १८ वर्षका सुनील महतोको परीक्षा दिइरहेका थिए।

पक्राउ परेका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।