२०८१ आश्विन ५

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १९, शनिबार ११:२० गते

सुर्खेत १९ साउन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आउँदो सोमबार साउन २१ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
सुरुमा माओवादीसँगको सत्तागठबन्धनबाट मुख्यमन्त्री बनेका कँडेललाई केन्द्रमा सत्ता समीकरण बदलिएपछि यतिवेला कांग्रेसको समर्थन प्राप्त छ।
मुख्यमन्त्री कँडेलले २१ साउन सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावका लागि प्रदेश सभा सचिवालयमा पत्राचार गरिसकेको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
केन्द्रमा कांग्रेस–एमालेको नयाँ सत्तागठबन्धन बनेपछि माओवादीले कर्णाली सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसैले कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त गर्न २१ सांसदको आवश्यक पर्छ। प्रदेश सभामा कँडेलको दल एमालेका १० र उनलाई समर्थन गर्ने दल कांग्रेसका १४ सांसद छन्। यसबाहेक माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका १–१ तथा एक स्वतन्त्र सांसद छन्।