२०८१ आश्विन ५

बिजुलीको बक्यौता तिर्नुपर्ने अडान राख्ने आचार्य र पुनलाई विद्युत प्राधिकरणको सञ्चालकबाट सरकारले हटायो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २०, आईतवार १०:०८ गते

काठमाण्डौं २० साउन ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका भक्तबहादुर पुन र कपिल आचार्यलाई नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट हटाइएको छ । उनीहरुलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो ।
उनीहरुले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई आइतबार पदबाट हटाएको पत्र पठाइएको छ ।
दुई सञ्चालकले उद्योगहरूबाट बिजुलीको बक्यौता प्रिमियम महसुल उठाउनुपर्छ भनेर आवाज उठाउँदै आएका थिए। बक्यौता नतिरेर लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने ७ असारको प्राधिकरण सञ्चालक समितिको निर्णयमा उनीहरूले फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
यसैलाई सरकारको निर्देशन उल्लंघन गरेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले गत १५ साउनमा उनीहरूलाई तीन दिनको म्याद राखेर स्पष्टीकरण सोधेका थिए भने उनीहरूले गत १८ साउनमा ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका थिए ।
सोही दिनको मिति राखेर मन्त्रालयले आज पदबाट हटाएको सूचना दिएको हो।