२०८१ आश्विन १

लुम्बिनी विकास कोष र साँस्कृतिक नगरपालिका जनप्रतिनिधिविच छलफल
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २०, आईतवार १४:१६ गते

धर्मशालाप्रतिको स्थानीय होटल व्यवसायीहरुले गुनासोप्रति विहारहरुका प्रतिनिधिहरुद्धारा दुःख व्यक्त

 

लुम्बिनी, २० साउन ।
बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा लुम्बिनी विकास कोषले आईतबार लुम्बिनी साँस्कृति नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । कोषका पदाधिकारी सहित नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुहरु सहितको उपस्थितीमा छलफल भएको हो । छलफलमा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक र साँस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार र कोषविच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले लुम्बिनीको विकास र संरक्षण आफूहरुले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाहरुको साथ र सहयोग आवश्यक हुने बताए । उनले कोषको वर्तमान पदाधिकारीहरु स्थानीयहरुको सवालमा संववेदनशिल रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरुको थलोको रुपमा विकास गर्नुपर्ने बताए । कोषाध्यक्ष भट्टराईले लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानको मागमा कोष नियम र विधिले मिल्नेसम्मका बुँदाहरुमा सकरात्मक रहेको तर मागहरु लुम्बिनी अशान्त छ भन्ने सन्देश दिने गरी नगर्न समेत आग्रह गरे । उनले स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनीलाई साँच्चिकै शान्ति स्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए ।
उक्त अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति रहेको भन्र्दैै कोष र स्थानीय सरकारविच सहकार्यको वातावरण बढाउनुपर्ने बताईन । उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याई गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयहरुको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिईन ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको स्थल र विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँको बिषयमा सबैपक्ष संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले यूनेस्कोले खतराको सूचीबाट नराख्ने निर्णय भएपनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयहरुले समेत साथ सहयोग गर्नुपर्ने बताए । लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदुषण, प्रो क्वाकले भनेको शान्ति सहर जस्ता बिषयमा समेत प्रश्न उठेकाले यस बिषयमा संघ, प्रदेश र स्थानीय सरकारले समेत चासो र सहकार्य गर्नुपर्ने उनले बताए । छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडाअध्यक्षहरुले लुम्बिनी साँस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए ।
उक्त अवसरमा विहारहरुका प्रतिनिधिहरुले आफुहरुले धर्मशाला सञ्चालन गरिरहेपनि होटलका रुपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीहरुले गुनासो गरेकोमा दुःख व्यक्त गरेका थिए । उनीहरुले धर्मशालामा आउनेहरु धार्मिक तीर्थयात्रीहरु रहेको भन्दै यस्ता बिषयले तीर्थयात्रीहरु लुम्बिनी आउनेक्रम घट्न सक्नेतर्फ सजग गराए ।
छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, विहारका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रमम लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, शसस्त्र प्रहरी बलका डिएसपि, कोषका विभागिय प्रमुखहरु, विहारका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।