२०८१ आश्विन ४

एसइई पूरक परीक्षा सुरु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २३, बुधबार ०६:०० गते

बुटवल २३ साउन ।
आजदेखि एसइई पूरक परीक्षा सुरू भएको छ । ११ बजेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एइइई)को पूरक परीक्षामा दुई लाख ५२ हजार विद्यार्थी सामेल छन् । रुपन्देहीमा ३ सय ३८ विद्यालयका लागि १८ वटा परीक्षा केन्द्रमा परिक्षा सुरु भएको छ । जिल्लामा ८ हजार ५ सय ६४ परीक्षार्थी रहेका छन् ।
यसपटक परीक्षा बोर्डले एसइईमा एनजी अर्थात् ‘ननग्रेड’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५५० केन्द्र तोकिएको छ । एसइई निर्देशिका, २०७९ अनुसार दुई विषयमा एनजी आएका विद्यार्थी पूरक परीक्षामा सहभागी पाउने हुन पाउँछन् । तर, तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एनजी आएको सबै विषयमा परीक्षा दिन पाउने नियम जारी गरेसँगै सबै विद्यार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन् ।
बोर्डले २३ देखि ३१ साउनसम्म पूरक परीक्षाको मिति तोक्दै परीक्षा मर्यादित बनाउन केन्द्रहरूलाई निर्देशन दिएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुनेछ । यस विषयमा एक लाख एक हजार ३८३ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।
यसपटकको एसइईमा सबैभन्दा बढी एनजी गणितमा आएको छ । यो विषयमा एक लाख ७७ हजार ९८५ जनाले परीक्षा दिँदै छन् भने विज्ञान विषयमा एक लाख २६ हजार विद्यार्थीले एनजी ल्याएका थिए । परीक्षाको नतिजा १५–२० दिनमा प्रकाशन गरिने बोर्डले जनाएको छ ।