२०८१ आश्विन ४

विद्यार्थीको विदेश पलायन रोक्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २८, सोमबार १२:४७ गते

स्वदेशमै गुणस्तरीय शिक्षण सस्था रहेको दावी

बुटवल २८ साउन ।
उच्च शिक्षाको लागि विदेश धाउनुपर्ने अवस्था अहिले नरहेको कुरामा जोड दिइएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण सस्थाहरु स्वदेशमै रहेकाले यही उच्च शिक्षा अध्यान गर्नुपर्नेमा जोड दिइएको छ ।
नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय देवीनगर बुटवलमा कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थी सम्मान तथा विद्यार्थी विदेश पलायन नियन्त्रणमा क्याम्पसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व बजारको शैक्षिक गुणस्तरसँग प्रतिस्पर्धा गर्न सक्ने क्याम्पसहरू नेपालमै भएकोले अध्ययनका लागि विदेश जान नपर्ने बताए । स्वदेशमा रहेर विभिन्न काम गर्न सक्ने अवसर भएको र विश्वका उत्कृष्ट देशहरूमध्ये नेपाल पनि एक भएकोले विदेश गएर अनागरिक नहुन उनले आग्रह गरे । युवा जनशक्तिबाट मात्रै देशको भाग्य र भविष्य बदल्न सम्भव हुने भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने इच्छाशक्ति युवाहरुमा हुनुपर्ने धारणा राखे ।
नवीन विद्यालय लुम्बिनी प्रदेशको शैक्षिक धरोहर भएकोले अन्य सामुदायिक विद्यालयले पनि यस विद्यालयको अनुकरण गर्नुपर्नेमा जोड दिँदै विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो योगदान पुर्याएकोमा प्रधानाध्यापक प्रति आभार तथा धन्यवाद व्यक्त गरे ।


लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति गिरिधारीलाल न्यौपानेले देश निर्माणको भविष्य बोकेका विद्यार्थीहरूबाट राष्ट्र निर्माणमा योगदान दिन सुझाव दिँदै प्रदेश सरकारबाट विदेश पलायन रोक्न संस्थागत रुपमा सबै किसिमका सहयोग गर्न तयार रहेको बताए ।
बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले बुटवल बहुमुखी क्याम्पसमा पनि बिएस्सी, बिबिए, बिबिएसका कक्षाहरू पनि सञ्चालन भएको बीए बीएलबी पनि सञ्चालन गर्ने क्रममा रहेकोले र शिक्षामा बुटवलमा धेरै सम्भावना भएको बताए । उनले स्वदेशमा उच्च शिक्षा अध्ययन तर्फ लाग्न विद्यार्थीहरुलाई सुझाव पनि दिए ।
लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले कतिपय क्याम्पसहरुले विदेशमा उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्ने गरी कोरियन भाषा, जापानिज भाषा कक्षा सञ्चालन गरेर गल्ती गरेको धारणा व्यक्त गरे । बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसले ज्ञान दिने र असल व्यवहार दिनुपर्ने कुरामा जोड दिए । सिद्धार्थ गौतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बुटवल शैक्षिक हव भएको र उच्च शिक्षाको लागि बुटवलमै गुणस्तरीय क्याम्पसहरु भएकोले विद्यार्थीहरूले विदेश पलाइनमा ध्यान दिन नहुने धारणा व्यक्त गरे । लुम्बिनी इन्टरनेसनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेलले विदेश अध्ययन गर्ने विद्यार्थीहरूको पीडा र नेपालमा प्रगति गरेका सफल व्यक्तिहरूको समग्र विश्लेषण गरे । कार्यक्रममा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल अभ्यासहरू पेश गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आकृति अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्र.अ. अर्जुन खनाल, नवीन विद्यार्थी क्लबका अध्यक्ष अमिसन थापा, उत्कृष्ट विद्यार्थी पवन पन्थले धारणा राखेका थिए । कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण ६२५ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।