२०८१ आश्विन १

आगलागिजन्य दुर्घटना न्यूनिकरणको लागि पसलमा ‘फायर अलार्म’ राख्न सुझाव
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २८, सोमबार १३:३० गते

बुटवल २८ साउन ।
आगलागिजन्य दुर्घटना न्यूनिकरणको लागि आफ्नो व्यवसायिक प्रतिष्ठानमा ‘फायर अलाम’ राख्न सुझव दिईएको छ । आफ्नो व्यवसायिक प्रतिष्ठानमा फायर अलाम राख्दा आगलागि भएको सूचना तत्कालै प्राप्त गर्न सकिने भएकाले सम्भावित क्षतीलाई बचाउन सकिने भन्दै त्यस्तो सुझाव दिईएको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले व्यवसायिक क्षेत्रमा हुने आगलागिको कारण तथा विपद् पश्चातको व्यवस्थापनमा सरोकारवालाको भूमिकाको विषयमा सोमबार संघको सभाहलमा गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालमा विपद्जन्य पूर्वतयारी कमजोर हुँदा विपद्जन्य घटनामा धेरै क्षती हुने गरेको धारणा राख्दै स्विपद्जन्य पूर्वतयारीमा जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पछिल्लो समयमा आगलागिका घटनाहरु बढ्दै गएको र आगलागिबाट हुने क्षतीमा विमा कम्पनीहरुबाट हुने दावी भुक्तानीमा ढिलासुस्तीका कारण व्यवसाय पुनसञ्चालनमा समस्या भईरहेको बताए । उनले आगलागीका घटनाबाट हुने क्षतिलाई कसरी कम गर्ने भन्ने सन्दर्भमा क्षति न्यूनीकरणका लागि स्थानीय साधन, श्रोतको पहिचान र परिचालन कसरी गर्ने ? क्षतिपछिको पुनस्र्थापनाका लागि बिमा, विपद् व्यवस्थापन कोषको उपयोगको सहज पहुँच र प्रक्रिया के के हुन ? अग्नि पीडितहरूलाई कसरी तत्काल उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? विपद्पछिको कर तथा राजस्वको फस्र्यौट कसरी हुन्छ ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूको जवाफ खोज्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेको इन्स्योरेन्सका सहायक सिईओ रमेशबहादुर थापाले विमाको अवधारणा, विमा पोलिसी, यसका प्रकार, विमा गर्दाखेरी थाहा पाउनुपर्ने कुराहरुको बारेमा जानकारी गराएका थिए ।
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका इलेक्ट्रिकल इञ्जिनियर विनोद शर्माले विद्युतबाट आगलागि हुनुको कारण, रोकथाम तथा आगलागि भईसकेपछि अपनाउनुपर्ने सुरक्षा उपायको बारेमा जानकारी गराएका थिए । बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख इञ्जिनियर योगेन्द्र चापागाईले विपद् व्यवस्थापनको लागि नगरपालिकाले गरेको पूर्वतयारीको बारेमा जानकारी गराए । कार्यक्रममा नेपाल विमा प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख पूर्ण थापा, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत षडानन्द खरेल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले धारणा राखेका थिए ।