२०८१ आश्विन १

चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३१, बिहीबार ०९:२२ गते

बुटवल, ३१ साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानूमान छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ ।

कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू-भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।