२०८१ आश्विन १

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १, शनिबार १४:३२ गते

बुटवल १ भदौ ।
तेस्रो लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बुटवलमा सुरु भएको छ । रूपन्देही योङ्ग ब्रदर सङ्घको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको अनुमतिमा आयोजना भएको तेस्रो लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडी सहभागि रहेको नेपाल परम्परागत खेलकुद महासङ्ख्या केन्द्रीय उपाध्यक्ष एवं तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक नवराज खरेलले बताए । १२ जिल्लाका टिम व्यवस्थापक, टिम कोच,पदाधिकारीहरू, गरी करिब ५०० जना सहभागिता रहेको योङ्ग ब्रदर रूपन्देहीका अध्यक्ष बम बुढा मगरले बताए । शनिवारबाट बुटवल सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न हुने आयोजकले बताएका छन् ।

प्रतियोगिता उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले खेल क्षेत्रको विकासलाई उपमहानगरपालिकाले प्रथामिकतामा राखेको बताए। अन्तराष्ट्रिय तेक्वान्दो महासंघ नेपालका केन्द्रीय अध्यक्ष चेतनराज गिरीले खेल क्षेत्रले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने भन्दै यसको विकासका लागि महत्वपूर्ण स्थान दिनुपर्ने साथै यसका लागि राज्यले उचित रकम विनियोजन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल योङ्ग ब्रदर संघका केन्द्रीय अध्यक्ष जनक राज गौतम, अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ नेपाल कालोपेटी कमिटी उपाध्यक्ष भीम ज्ञवाली, डब्लु.टी. एफ. तेक्वान्दो प्रशिक्षक गणेश बहादुर कुँवर, कराते प्रशिक्षक भुपेन्द्र सिंह थापालगायतको उपस्थीति रहेको थियो ।
नेपाल परम्परागत खेलकुद महासङ्ख्या केन्द्रीय उपाध्यक्ष एवं तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक नवराज खरेलले स्वागत मन्तव्य र आयुषा नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।