२०८१ आश्विन १

जनताका गुनासा सरकारले सुनुवाइ गर्छः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ११, मंगलवार ०५:३७ गते

पाल्पा ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्यक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासोलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताएका हुन । प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासो पेटिका राख्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका हुन । सरकारले नागरिकको गुनासो सुन्छ । उनले झण्डै २ हजार कर्मचारी लोकसेवा मार्फत पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेको निरासालाइ चिर्न जरुरी रहेको बताए । जनतामा आशा जगाउन, विकृतिमा बिरुद्ध सरकार कठोर बन्नुपर्ने धारणा राखेका छन ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताको विचारलाई आत्मसात गर्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ मन्त्री खेमबहादुर सारु मगर लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।