२०८१ आश्विन १

प्रस्तावित राजदूतहरूको सुनुवाई प्रक्रिया भदौ १४ देखि
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ११, मंगलवार ०९:२० गते

काठमाडौ, ११ भदौ ।

 संसदीय सुनुवाई समितिले बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई भदौ १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाईको कार्यतालिका पारित गरेको हो । कार्यतालिका अनुसार भदौ १४ गते समितिले उजुरीकर्ताहरूहरूसँग छलफल गर्नेछ भने भदौ १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।

उनले राजदूत सिफारिसका बिषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताए । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उाले बताए ।

बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद जीवन परियारले पछि परेका समूदायलाई पनि सहभागीताका बारेमा पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सहि ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।