२०८१ आश्विन १

बुटवल उवासंघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १३, बिहीबार १०:२६ गते

बुटवल १३ भदौ ।
यति एयरलाईन्सले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई हवाई टिकटको शुल्कमा छुट सुविधा दिने भएको छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही र यति एयरलाइन्स लिमिटेड बिच हवाई टिकटमा छुट दिने समझदारी पत्रमा बिहिबार दुई पक्ष विच हस्ताक्षर गरिएको छ ।
समझदारी अनुसार संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई यति एयरलाईन्सले सञ्चालन गर्ने आन्तरिक तर्फको हवाई भाडामा यति एयरलाइन्सको मोवाइल एपबाट टिकट काट्दा उडान क्षेत्र अनुसार ३५० देखी ६ सय रुयैंयासम्म छुट प्राप्त गर्ने बुटवल उवासंघले जनाएको छ । त्यस्तै लगेजमा संघले जारी गरेको सदस्यता परिचयपत्र देखाई ५ किलो थप सुबिधा लिन सक्नेछन् । सो समझदारी पत्र हाललाई एक बर्षको लागि हुनेछ ।
उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल र यति एयरलाइन्स लिमिटेडको तर्फबाट भैरहवा स्टेशन मेनेजर अनुप ढकालले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस प्रकारको सुबिधाले हवाई व्यवसायको प्रवर्द्धन हुनुको साथै व्यवसायी सदस्यहरुलाई उक्त एयरलाइन्स प्रयोगको लागि प्रोत्साहन पनि हुने बिश्वास ब्यक्त गरे । यति एयरलाईन्सका भैरहवा स्टेशन मेनेजर अनुप ढकालले यात्रुलाई सुबिधा थप गर्नुको साथै बिशिष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । उक्त कार्यक्रममा संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।