२०८१ आश्विन २८

भन्सारमा कडाई गर्न माग
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १०, बिहीबार १३:०५ गते

बुटवल, १० असोज ।
रुपन्देहीमा क्रियाशिल ४ व्यवसायीक संस्थाहरुले भन्सार नाकामा कडाइ गर्न माग गरेका छन् । कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरी निकासी कारोवारले राजश्व संकलन तथा व्यवसायीक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले बिहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै ती सस्थाका प्रतिनिधिहरुले कडाईसाथ भन्सार नियमन नगरिएको तथा खुल्ला सीमाबाट अबैद्य कारोवार नरोकिएको गुनासो गरे । यसले गर्दा सरकारको राजश्व संकलनमा असर पर्नुकासाथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको भन्दै सीमा क्षेत्रमा कडाई गर्न उनीहरुले आग्रह गरे ।


ज्ञापन पत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ ।
सो अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने अवस्थामा पुगेको बताए । उनले अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न व्यवसायीक संस्थाहरुले सधै साथ दिने पनि बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैतिहार जस्ता प्रमुख चाडहरुमा नेपाली वजार सुनसान हुने भारतिय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गरे । देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान उनले अनुरोध गरे ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अबैद्य कारोवारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेको बताउदै सीमा नियमन कडाई गर्दै अबैद्य रुपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन आग्रह गरे ।
उद्याग व्यापार संघका अध्यक्ष विष्ण प्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियतामा देखिएको ढिला सुस्तीले अबैद्य कारोवारीले प्रश्रय पाएको अरोप लगाउदै भन्सारमा कडाई गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरे ।