२०८१ पुष ६
बुटवल १२ असोज ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक समेत रहेका उनी नेपालको राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सक्रियताका साथ उभिदै आएका थिए ।
लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७० वर्षीय कार्कीको पाल्पा तानसेन धुवाघाटमा निधन भएको हो । उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए ।
पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए ।
उनको शनिवार नै बुटवलको योगिकुटी स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।