२०८१ मंसिर ८

लुम्बिनीमा विपतबाट साउनयता ९५ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १६, बुधबार ०९:५० गते

राहत वितरणका लागि चालु आर्थिक वर्षमा ४० लाख निकासा
बुटवल १६ असोज ।
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको साढे दुई महिनामा विपतजन्य घटनामा राहत र पुनर्स्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन्।

साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरणअनुसार राहततर्फ ३४ लाख ७५ हजार र पुनर्स्थापनातर्फ पाँच लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ। राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा तीन लाख ८० हजार, बर्दिया जिल्लामा दुई लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहतस्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

यस्तै पुनर्निर्माणका लागि प्युठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। बाढी, पहिरो, आगलागी, चट्याङलगायतमा विपतमा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनर्स्थापनाका लागि रकम उपलब्ध गराउँदै आएको हो।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि पाँच करोड २६ लाख ९६ हजार ७१९ रुपैयाँ उपलब्ध गराएको छ । राहततर्फ दुई करोड ७१ लाख ५१ हजार ७१९ रुपैयाँ र पुनर्स्थापनातर्फ दुई करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको छ ।

आर्थिक वर्ष ०८१र८२ को साउन एक गतेदेखि असोज १३ गतेसम्म प्रदेशमा विपतका ४०६ घटना घटेका छन्। जसमा परेर ९५ जनाको मृत्यु भएको छ भने दुई सय सातजना घाइते र १० जना बेपत्ता भएको विवरण छ। हालसम्मको विपतको घटनाले गर्दा पाँच करोड ११ लाख ९५ हजार पाँच सय रुपैयाँ क्षति भएको छ। व्यक्तिगत घरमा पूर्ण क्षति ७५, आंशिक क्षति २९१ छन् । यो अवधिमा बाढीका ३०, पानीमा डुबेर ६०, अधिक वर्षा ६२, आगलागीका ५०, विषाक्त खाद्य सेवन १९, पहिरो २९, सर्पदंश ७८, जनावर आक्रमण १५ वटा घटना घटेका छन् ।

यस्तै, चट्याङका २२, तातो हावा लहरको एक, डुबानका नौ, हावाहुरी एक र अन्य ३० गरी ४०६ वटा विपतका घटना भएका छन् । बाढीमा परेर १०, पानीमा डुबेर ५१, आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । यस्तै विषाक्त खाद्य सेवनबाट दुई, पहिरोमा परेर आठ, सर्पदंशबाट नौ, जनावर आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । चट्याङमा परेर ६ जना, तातोहावा लहरबाट एकजना, अन्यबाट पाँचजनाको मृत्यु भएको छ ।