२०८१ कार्तिक १८

बुटवल उवासंघमा शुभकामना आदानप्रदान
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १९, शनिबार १२:१९ गते

उद्योगी व्यवसायीमैत्री नीति अवलम्बन गरिदिन ब्यवसायीको आग्रह

बुटवल १९ असोज ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन उद्योगी ब्यवसायी मैत्री नीति अवलम्वन गर्न सरकारलाई आग्रह गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विजया दशमी, दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरुको अवसरमा बुटवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले आर्थिक क्षेत्रमा सुधारको खाचो समेत औल्याए ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नीजि क्षेत्रलाई परेका समस्या समाधानका लागि आफू प्रयत्नशिल रहेको पनि बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशमा भएको स्रोत साधनको प्रयोगबाट देशको विकास गर्न सकिने भन्दै त्यसका लागि स्थानीय स्रोत साधनको प्रयोगका लागि कानुन बाधक बन्न नहुने धारणा राखे । उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि विवाद नभएको जग्गामा तारवार तथा वाल लगाउने काम गर्न सकिने पनि बताए ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कार्की र बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयलाई उद्योगी व्यवसायीमैत्री नीति अवलम्बन गरिदिन आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे, रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले धारणा राखेका थिए ।
कार्यालय प्रमुखहरुलाई स्वागत
कार्यक्रममा संघले रुपन्देहीका विभिन्न कार्यालयमा सरुवा भई आएका नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत समेत गरेको छ । संघले भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे र आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेलाई स्वागत गरेको छ ।