२०८१ आश्विन ८

मेलवर्नद्वारा वेष्टर्न ६२ रनले पराजित
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ८, मंगलवार १७:१७ गते

बुटवल, ८ चैत ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा मंगलबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले वेष्टर्न क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै जित हात पारेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा ४७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको योगफल बनाएको थियो । उसका लागि विजय प्रजापतीले नटआउट ७१, सेजाद आलमले २६ र सविन शाक्यले १४ रन बनाए । बलिङमा वेष्टर्नका प्रतीष जिसीले ५ र विक्रम भुसालले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको वेष्टर्न २१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै रोकियो । उसका लागि सन्देश थापाले २९ र अनिल खरेलले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा मेलवर्नका रमेश कुर्मी र रोशनलाल गुप्ताले ३–३ तथा शिवकुमार मौर्य र सन्तोष यादवले समान २–२ विकेट लिए । मेलवर्नका विजय प्रजापती म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।