२०८१ आश्विन ८

लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ९, बुधबार १७:१२ गते

बुटवल, ९ चैत ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुधबार भएको सुपर फोरको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको छ ।
जितसँगै एक खेलअगावै लुम्बिनी खुकुरी फाइनल पुगेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनायो । उसका लागि लालबहादुर अधिकारीले ४८, निश्चल चौधरीले २९, शंकर रानाले २६ र अन्तिम थापाले २२ रन बनाए । बलिङमा वेष्टर्नका नरेन साउदले ४ तथा अनिल खरेल र शौरभ खनालले समान ३–३ विकेट लिए । प्रतिउत्तरमा वेष्टर्न ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमै समेटियो । उसका लागि विक्रम भुसालले ५२, प्रतिष जिसीले ३३ र शौरभ खनालले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकरीका अजयकुमार चौहानले ४, लालबहादुर अधिकारीले २ तथा धिरज शाही, शाहव आलम र इकलाख अहम्मदले समान १–१ विकेट लिए । लालबहादुर अधिकारी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।