२०८१ मंसिर ७
बुटवल २२ कात्तिक ।
आज बिहीबार एकैदिन सुनको मुल्य प्रतितोला ४ हजार रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको अन्तराष्ट्रिय मूल्यमा आएको उतार चढावसँगै नेपालमा पनि प्रभाव परेको हो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।