२०८१ पुष ७
बुटवल २७ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रान्त सरकारले गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न उनले आह्वान गरे ।
साथै लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोग मार्फत पत्रचार हुने बताए । उनले सिचुआन सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई उत्साहपूर्ण उपस्थितीको लागी आह्वान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व सबैको साझा रहेको बताए । मुख्यमन्त्री आचार्यले लुम्बिनी संग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गर्न आह्वान गरे।‘लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं बिश्वको शान्ती दिपलाइ थप प्रज्वल्लित गरौं’मुख्यमन्त्री आचार्यले भने ,‘म हार्दिक आमन्त्रण गर्दछुकि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोग मार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिती हुनेछ ।’
उनले बौद्ध पर्यटनको विविधीकृत बिकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे ।‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसंग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु’आचार्यले भने ,‘लुम्बिनी प्रदेश भित्रका गरिएका बस्तुको उत्पादनहरुको बिकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसंग जोडन तपाइहरुको अनुभव प्रविधि मात्र नभै उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।’ लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई आमन्त्रण समेत गरे ।
सिचुआन सरकार संग भएको भगिनी सम्वन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा विच सिधा हवाइ सेवा सञ्चालन गर्न आग्रह पनि उनले आग्रह गरे ।
सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया बिकास मोडेल, प्रबिधी तथा समृद्धिबाट सिकाई हाँसिल गर्न चाहेको पनि बताए ।
सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित उनकी श्रीमती दिपा आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने सहभागी छन् ।