२०८१ मंसिर २१
भिक्षुणी धम्मावतीलाई मानार्थ विद्यावारिधिको उपाधी
बुटवल ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा हुने तेस्रो विशेष दीक्षान्त समारोहमा एक विदेशीसहित २८९ जनालाई दीक्षित गर्ने भएको छ। १४ मंसिरमा हुन लागेको दीक्षान्त समारोहमा उनीहरू दीक्षित हुन लागेका हुन्।
विश्वविद्यालयले पहिलोपटक भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने भएको छ। बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएबापत उनलाई मानार्थ विद्यावारिधि प्रदान गर्न लागेको विश्वविद्यालयका रजिस्ट्रार डाक्टर तिलकराम आचार्यले बताए। उनका अनुसार दीक्षान्त समारोहमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्ण पदकबाट सम्मान गरिनेछ। दीक्षान्त समारोहमा विशेष अतिथिका रूपमा म्यानमारका भिक्षु सितगो सायडोको उपस्थिति रहने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्। ती शैक्षिक कार्यक्रममा २३०८ विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्रचार्यका अनुसार तीमध्ये ९० जना विदेशी विद्यार्थी विश्वविद्यालय अध्ययनरत छन्। चीन, भारत, बर्मा, जापानलगायतका देशका विद्यार्थी यहाँ अध्ययनरत रहेको उनले बताए।
२०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७औँ सभाको बैठक प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हुने रजिस्ट्रार आचार्यले बताए। विशेष दीक्षान्त समारोह लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुनेछ।
विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलका अनुसार वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति ओलिसहित, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, विदेशी राष्ट्रिका राजदुतहरुको उपस्थिति रहने छ ।
२०६१ साल मंसिर १४ गते स्थापित यस विश्वविद्यालयले लुम्बिनीमा औपचारिक रुपमा एक दशकअघि मात्रै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुभारम्भ गरेको थियो । केन्द्रीय कार्यालय लुम्बिनीमा स्थापनासंगै भौतिकपूर्वाधार निर्माण गर्दै शैक्षिक कार्यक्रम विस्तारमा विश्वविद्यालयले जोड दिएको छ । लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन् । विश्वविद्यालयले सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानलाई जोड दिने नीति १६ औं सभाको बैठकबाट लिएकाले त्यसको कार्यान्वयनमा काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।