२०८१ पुष ८
कपिलवस्तु १६ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले केही योजनाहरुको अनुगमन गरेका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्कि पुल र चिस्यान केन्द्रको उनले अनुगमन गरेका छन् । संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्कि पुल बनेको थियो ।
निर्माण सम्पन्न भएको दुई बर्षको अवधिमा पुल भत्किएपछी आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछी समस्या परेको भन्दै स्थानीयहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताए ।‘पक्कि पुल बनेको तर, बनेको केही बर्ष भित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’उनले भने,‘नागरिकहरुले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’
जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडक खण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी थिए । यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणधिन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गरेका छन् । कृषि उपज सामाग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझैं आयोजना सञ्चालनमा आउन सकेको छैन् । चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गरे ।‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रतिफल दिने आयोजनाहरुलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’