२०८१ माघ २३

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु, उद्घाटन खेलमा नेपाल प्रहरीको जीत
  • लुम्बिनी खोज
  • २०८१ पुष १७, बुधबार १४:०० गते

बुटवल १७ पुस ।
मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीपको उद्घाटन खेल नेपाल प्रहरीले ३– १ को सेटले जीतेको छ ।
बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५– २२, दोस्रो सेट २५– २०, तेस्रो सेट ३२– ३४ हुँदै चौथो सेट २५–१८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जीत निकालेको हो ।
विभागिय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबीच बुधबार निकै प्रतिश्पर्धात्मक खेल भएको थियो । यद्यपि वेष्ट फाइभमा भएको प्रतियोगितामा आयोजकले जीत निकाल्न सकेन । नेपाल प्रहरीका चन्द्र कुंबर र मदन भण्डारीको राजन कुंवर प्रशिक्षक रहेका थिए ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल च्याम्पियनसीपमा बिहीबार तीन प्रतियोगिता हुदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनबी हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलीबल प्रशिक्षण केन्द र मणीमुकुन्द भलीबल क्लबबीच हुनेछ । खेल ससस्त्र प्रहरीबल र गल्कोट भलीबल क्लबबीच हुनेछ ।
बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताएका छन् । नेपाल र भारतका ८ भलीबल टिम सहभागी खेल पुस २४ गतेसम्म संचालन हुनेछ ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । उनले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका थिए ।
सस्थापक अध्यक्ष रमेश शिलवाल, भलिवल संघका उपाध्यक्ष भरत शाह, संविधानसभा सदस्य राधाकृष्ण कंडेल, प्रतिनिधी सभा सदस्य वासुदेव घिमिरेलेलगायतले बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले खेलकुदको विकासका लागि गरेका क्रियाकलापका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको थियो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माणकालागि स्थानीयतहदेखि प्रदेश हुँदै संघसम्म कमिटी निर्माणगरी विद्यालयदेखि विश्वविद्यालय हुदै ओलम्पीकसम्म खेलगतिविधि संचालन गरीरहेको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहेको छ ।च्याम्पियनसिपमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत)गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहेका छन् ।