२०८१ पुष २६
बुटवल २५ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणकालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मुस्लिम आयोगले बिहिबार दाङको लमहीमा गरेको मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध बिषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम उद्घाटन गर्दै उनले समुदायको सशक्तिकरण र जागरणकालागि समुदायले चलाउने हरेक अभियानलाई प्रदेश सरकारले साथ दिने बताए ।‘मुस्लिम समुदायका बालबालिका अझैं पनि शिक्षाबाट टाढा रहनु परेको छ । प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरुलाई पूर्णछात्रावृत्ति दिएको छ । तर, यो छात्रावृत्ति लिने किशोरीको संख्या थोरै छ’मुख्यमन्त्री आचार्यले भने,‘समुदायका अगुवाहरुनै समाज परिवर्तन र जागरणमा अघि सर्न जरुरी छ ।’ प्रदेश सरकारले मुस्लिम समुदायको निजामती क्षेत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै उनले निजामती क्षेत्रमा मुस्लिम समुदायको ७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।‘सचेतना र सशक्तीकरणको क्षेत्रमा समुदाय र सरकार मिलेर अघि बढ्न जरुरी छ । सुरुवात समुदायबाटै हुन आवश्यक छ’उनले भने,‘प्रदेश सरकाले मदरसा शिक्षालाई सुधार गर्न सहयोग गरेको छ । यो शिक्षालाई समयानकुल बनाउदै लैजानुपर्छ ।’ समुदाय भित्र अझैं महिला–पुरुष विच विभेद रहिरहेको भन्दै त्यसलाई अन्त्य गर्न सामाजिक काम र जिम्मेवारीमा महिला सहभागीता बढाउन समुदायका अगुवाहरुलेनै बिशेष ध्यान दिनुपर्ने भनाई उनको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको सहभागिता र सशिक्तकरणकालागि तीन तहकै सरकारले बिशेष कार्यक्रम प्याकेज निर्माण गरेर लागु गर्न आवश्यक रहेको धारणा राखे । शिक्षा, स्वास्थ्य, तथा रोजगारी सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने, राज्यले प्रदान गर्ने सबैखाले अवसर सुनिश्चित गर्न उनले आग्रह गरे ।