२०८१ माघ २३
विकासलाई सरकारले तीव्रता दिन्छः प्रधानमन्त्री
बुटवल ११ माघ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ मार्गको आज शुक्रवार ब्रेक थ्रु् गरिएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरे ।
एघार सय २६ मिटरको सुरुङ मध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएकोमा ब्रेक थ्रुका लागि १ दशमलव ५ मिटर बाकी राखेर एक हजार ८७ दशमलव ५ मिटर सुरुङ केही दिन अगाडी नै खनेर सकिएको थियो ।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकको विकास र स्थीरताका लागि बनेको भन्दै विकासलाई तीव्रता दिने बताए । उनले सुशासन कसरी ल्याउन सकिन्छ भन्नेमा वर्तमान सम्युक्त सरकार विशेष रुपमा ध्यान दिएको बताए ।
प्रधानमन्त्री ओली स्वास्थ्य प्रतिकूलताका कारण उपस्थीत हुन नसकेपछि प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।
“सुरुङमार्ग ब्रेक थ्रु हुनु पाल्पा, गुल्मी लगायत यस क्षेत्रका बासिन्दाका लागि मात्रै नभएर सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ ।” प्रधानमन्त्री ओलीले भने, “मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”
नेपाल हिजो जस्तो दुर्गम नरहेर सुगम बनाउने तर्फ सरकार केन्द्रीत रहेको धारणा प्रधानमन्त्री ओलिले राखे । कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी थिए ।
सुरुङ मार्ग निर्माण चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयामा ठेक्का लिएको थियो । सुरुङ मार्गको तीन वटै बाईपासको ब्रेक थ्रु पुसको पहिलो साता अगाडी नै भएको थियो । त्यस यता मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
आयोजनाकी सुचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङ भित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी यहा तीन वटा बाइपास बनाउृने काम सगसगै अगाडी बढेको हो । तेस्रो र पहिलो को ब्रेक थ्रु भदौ तथा असोजमा भएकोमा दोश्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको थियो ।
यहा पहिलो बाइपासको लम्बाई १ सय ५१ मिटर, दोस्रोको १ सय ६१ र तेस्रोको १ सय ३० मिटर लम्बाइ रहेको छ ।
सुचना अधिकारी ज्ञवालीका अनुसार भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपासमुख्य टनेलसम्म खनेर सकिएको थियो ।
सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक हजारौं सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरुमा ओहोर दोहोर गर्छन् ।
भौतिक ४०.१८ र वित्तिय ३९.९० प्रतिशत प्रगति
शुक्रवार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङ मार्गको बुधवार सममको प्रगति करिब ४० प्रतिशत रहेको छ । आयोजनाका अनुसार बुधवार सम्म सुरुङ मार्गको भौतिक प्रगति ४० दशमलव १८ प्रतिशत रहेको छ । त्यस्तै वित्तिय प्रगति ३९ दशमलव ९० प्रतिशत रहेको छ ।